मन्त्री रवीन्द्र अधिकारीको शव आज पोखरा ल्याईंदै, श्रद्धाञ्जली, शवयात्रा र अन्त्येष्टी  

पोखरा, १७ फागुन /हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टी शुक्रबार पोखरामा हुने छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टी शुक्रबार गृहजिल्ला कास्कीको पोखरा स्थित रामघाटमा गरिने छ ।

अधिकारीको अन्त्यष्टी पोखरामा हुने भएपछि उनका बाबाआमा, छोरा, बहिनी बिहीबार नै पोखरा आएका छन् । अन्येष्टी अघि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । श्रद्धाञ्जलीका लागि अधिकारीको शव शुक्रबार दिउँसो १२ देखी ४ बजे समम श्रद्धाञ्जलीका लागि राखीने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

बिहीबार अपराह्न देखि नै काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राख्ने तयारी गरिएपनि पोष्टमार्टममा ढिलाई भएपछि शुक्रबार विहान ८ बजेदेखी पूर्वाह्न ११ बजेसम्म राखिने भएको छ । काठमाडौंमा ११ बजेसम्म राखेर त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अधिकारीको शव पोखरा ल्याइने बस्नेतले जानकारी दिए ।

श्रद्धाञ्जली पछि प्रदर्शनी केन्द्र नयाँबजारबाट शुरु भएको शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोकहुँदै रामघाटमा लगेर अन्त्येष्टी गरिनेछ । अधिकारीको राजकीय सम्मान साथ अन्त्येष्टि गर्ने नेपाल सरकारले यसअघी नै निर्णय गरिसकेको छ । रामघाटमा राजकीय सम्मानका लागि नेपाली सेनाले सलामी दिने छ । अन्त्येष्टीमा उपप्रधानमन्त्री इश्वर पोख्रेल, नकेपाका नेता नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, बामदेव गौतम लगायतका नेताहरु पोखरा आउने छन् ।

यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ । प्रदेशका सबै पालिकाहरुमा २४ गतेसम्म शोक सभा गर्ने निर्णय नेकपाको निर्णय छ ।

 

 

कमेन्टहरु
Loading...