आर्थिक समृद्धि सरकारको प्राथमिकतामा– मन्त्री अधिकारी

पोखरा,२१ कात्तिक / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएकोछ ।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) पोखरा महानगरपालिका ११ द्धारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताउनुभयो ।

मुलुकको सवै क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको कारण आर्थिक बर्षको तीन महिनामा ३४ प्रतिशतले पर्यटनमा बृद्धि भएको जानकारी दिदै मन्त्री अधिकारीले मन्त्रालयले पर्यटन पूर्वाधारमा जोड दिंदै आएको उल्लेख गर्नुभयो ।

लुम्बिनीस्थित गौतमबुद्ध विमानस्थल नौ महिनाभित्र सञ्चालनमा आउने बताउँदै उहाँँले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तदारुक्ताका साथ भएको कारण तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा स्थायी समिति सदस्य सोमनाथ अधिकारी (प्यासी) ले तिहारपछि लगत्तै पार्टी व्यवस्थित गरेर सरकारलाई प्रभावकारी बनाउने बताउनु भयो ।
नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्वाचनमा पार्टीले जनता समक्ष गरेको प्रतिवद्धता पाँच बर्षभित्र पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले विकास निर्माणका कार्यमा जनता सचेत हुनु पर्नेमा जोड भयो । नेकपा पोखरा ११ संयन्त्र सदस्य नारायण प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा कराँते राष्ट्रिय खेलाडी विष्णु नेपाली लगायतले मौलिक संस्कृति र बिभिन्न पर्वले समाजलाई एकतावद्ध बनाउँदै आएको बताउनुभयो ।

कमेन्टहरु
Loading...