१३ औं सागलाई बजेट अभावले पुर्वाधार तयारीमा समस्या

पोखरा, २५ साउन / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पोखरामा आयोजना गरिने आठ खेलको पुर्वाधार अझै तयारी भईसकेको छैन् । पुर्वाधार छन्, व्यवस्थित छैनन् । व्यवस्थित बनाउन बजेट छैन् । फाष्ट ट्रयाकबाट काम गरेपनि टुग्याउने समय अभाव हुने सम्भावना छ । बजेट कहिले आउँछ टुंगो छैन् । बजेटले नै पुर्वाधार निर्माणमा अडकिएको छ ।

रंगशालाभित्रको पुर्वाधारदेखि बाहिरका बनाउनुपर्ने पुर्वाधार बजेट नआउँदा काम गर्न नसकिएको स्वयं सम्बन्धीत खेलका पदाधिकारीहरु बताउँछन् । बजेटकै अभावमा पुर्वाधार तयार नहुनेमा शंका उत्पन्न हुन थालिसकेको छ । त्यसको प्रत्यक्ष असर आसन्न साग खेलकुदलाई पर्ने छ ।

पोखरामा महिला फुटबलसँगै ह्याण्डबल, आर्चरी, भारोत्तोलन, भलिबल, प्याराग्लाईडिङ र ट्रायथोलन आयोजना गरिने छ । महिला क्रिकेटको पनि चर्चा छ । ती खेलहरुको पुर्वाधार केही तयारी छैन् । ह्याण्डबल र भलिबल पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डभित्र खेलाईने तय गरिएको छ । हलमा पार्केटिङ वा फ्लोरिङ गरिएको छैन् । सिट छैन् । साउण्ड सिष्टम व्यवस्थित छैन् । हलमाथिको फल्स सिलिङ हावाले उडाएको छ । त्यसको लागि बजेट ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

ह्याण्डबल मैदानकै लागि ५० लाख रुपैयाँ छ । फ्लोरिङ गर्ने योजना ह्याण्डबल संघको छ । तर बजेट आईसकेको छैन् । साउन अन्तिम भईसकेको छ । समय घर्किसकेको छ । ह्याण्डबलको लागि रंगशालाभित्र बनिरहेको व्याडमिन्टन कभर्डहलमा पनि फ्लोरिङ गर्नुपर्ने खाँचो छ । व्याडमिन्टनको हल सागमा सहभागि हुने देशका खेलाडीलाई प्रशिक्षणको लागि उपलब्ध गराउने योजनासहित फ्लोरिङ गर्नुपर्ने देखिन्छ । भलिबल प्रशिक्षणको लागि पनि समस्या छ ।

भारोत्तोलन पोखराको सभागृह हलमा आयोजना गर्ने गृहकार्य गर्दै पुर्वाधारको लागि नेपाल भारोत्तोलन संघले जिल्ला संघलाई सुम्पिएको छ । जिल्ला संघले सभागृह हलको अध्ययन गर्दै स्टेजमाथि प्लेट फर्म बनाउनुपर्ने खाँचो औंल्याएको छ । सिट बनाउनुपर्ने छ । रंगरोगन देखि कोठाको सरसफाई तथा शौचालय व्यवस्थित गर्नुपर्ने छ । ‘बजेट आएको छैन् । बजेट नआउँदा समस्या बढेको छ ।’ कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले भने–‘थोरै बजेटमा काम सक्ने गरी काम गर्नुपर्ने खाँचो छ ।’

उनले सभागृह हललाई खेलस्थल बनाउन १५ लाख रुपैयाँ जति आवश्यक पर्ने अनुमान गरे । यद्यपी लागतको लागि प्राविधिक टोलीले अध्ययन गरिरहेका छन् । हललाई आगामी दिनमा पनि भारोत्तोलनको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजन गर्न मिल्ने गरी बनाउने योजना रहेको बताए । ‘सभागृह हलसँगै रानीपौवाको एसआरकेसी क्याटरिङको हल समेत छनोट गरिएको छ ।’ उनले भने–‘ त्यहाँ स्टेज बनाएर प्लेट फर्म राख्न सकिन्छ । कोठाहरु व्यवस्थित गर्नुपर्ने हुन्छ ।’

आर्चरीको पीडा पनि उस्तै छ । ९० लाख रुपैयाँ बजेट मैदानको लागि मागिएको छ । यद्यपी बजेट आएको छैन् । बजेट नआउँदा मैदान लेभलिङ बाहेक अरु केही काम गरिएको छैन् । ‘ग्राउण्ड लेभलिङ गरिसकिएको छ, तर हरियो बनाउन पाईएन भने यसको अर्थ छैन् ।’ उनले भने–‘त्यसैले बजेट आईदिएको भए मैदान ग्रिननरी बनाउन हुन्थ्यो ।’ उनले बजेट आएको भए दुई महिनाभित्र काम सक्ने बताए । अस्थायी प्यारापिट, पार्केटिङ, फल्स सिलिङदेखि शौचालय व्यवस्थित बनाउनुपर्नेमा छ ।

महिला क्रिकेटको चर्चा पनि छ । क्रिकेटको लागि मैदानमा माटो हालेर बाउण्ड्री फराकिलो बनाउने काम गरिएको छ । डोजरको पैसा कसले तिर्ने यकिन छैन् । कास्की जिल्ला क्रिकेट संघले क्रिकेटको लागि विकेट बनाउनुपर्नेमा जोड दिदैं आएको छ । विकेट बनाउने ध्याउन्नप्रति कसैको ध्यान गएको छैन् । ‘क्रिकेटको पहिलो प्राथमिकता विकेट हो । विकेटपछि मात्रै ३० यार्ड हुदैं बाउण्ड्री हो ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘बाउण्ड्री सम्याउनुभन्दा विकेट बनाउन जरुरी छ । विकेट बनाउने पैसा छैन् । बजेट आएको छैन् ।’

प्याराग्लाईडिङको पनि व्यवस्थित उडान र अवतरणस्थल छैनन् । उडानस्थलको लागि सम्भावित अध्ययनको लागि टोली खटिएको थियो । टोलीले सार्वजनिक जग्गामा लगानी गर्नुपर्नेमा जोड दिदैं आएको छ । एक्युरेसी र क्रसकन्ट्री दुई विधाको छुट्टै स्पट(स्थल) हुनुपर्ने प्रावधान छ । तर पोखरामा त्यस्तो स्थल नै छैन् । २० वर्षे इतिहास बोकेको प्याराग्लाईडिङ व्यावसायिकता बढ्दै गएपनि अन्तराष्ट्रियस्तरको उडान र अवतरण स्थल निर्माण गर्न प्याराग्लाईडिङको संस्था र कर लिईरहेको महानगरपालिका चुकेका छन् ।

चपाईको चौतरामा सार्वजनिक जग्गा उडानस्थलको बनाउने अध्ययन गरिएको थियो । त्यहाँ विद्युतको हाईटेन्सन लाईन हटाउनुपर्ने थियो । ‘हाईटेन्सन लाईन हटाउन नसकिने कुरा आएपछि सराङकोटकै उडानस्थललाई व्यवस्थित गर्ने तर्फ ध्यान दिएका छौं ।’ प्याराग्लाईडिङ खेलका प्रशिक्षक योगेश भट्टराईले भने–‘उडान स्थल व्यवस्थित गर्न ५० लाख रुपैयाँ खर्च हुन्छ ।’ उनले सराङकोट वा कास्कीकोटको तोरपानीको उडानस्थललाई व्यवस्थित बनाई चेन्जिङ रुम तथा शौचालय निर्माण गर्नुपर्ने बताए ।

अर्को खेल ट्रायथोलन हो । फेवातालमा आयोजना गरिने ट्रायथोलनको लागि आवश्यक लोकेसन छनोट गरिएको छैन् । पौडीसँगै साईक्लिङ र दौडको लागि छुट्टै ट्रयाक चाहिन्छ । बढ्दो सवारीले ट्राफिक समस्या बढाउने समस्या छ । निराकरण गरेर प्रतियोगितालाई भव्य बनाउनुपर्नेमा संघले जोड दिदैं आएको छ । बजेटसँगै पुर्वाधार तयारीको लागि आईतबार राष्ट्रिय खेलकुद परिषदमा बैठक छ ।

बैठकको लागि राष्ट्रिय खेलकुद परिषदका बोर्डसदस्य राजेश गुरुङसहित पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा प्राविधिकहरु उपस्थिति रहने छन् । ‘आईतबार बैठक छ । बैठकपछि बजेट निकासा हुने विश्वास छ ।’ बोर्ड सदस्य गुरुङले भने–‘बजेट परिषद मार्फत मन्त्रालयसँग मागेका छौं ।’ उनले बजेट आएको अवस्थामा फाष्ट ट्रयाकबाटै काम धमाधम गरिने भन्दै बजेटले नै पुर्वाधार निर्माणको काम नरोकिने स्पष्ट पारे ।

कमेन्टहरु
Loading...