Ganthan News Pokhara
All news from Pokhara & around

पोखराका टोल टोलमा सार्वजनिक शौंचालय

पोखराका टोल टोलमा सार्वजनिक शौंचालय
1

पोखरा, ९ जेठ/पोखरा महानगरपालिका वडा नम्बर २१ मा एक टोल एक सार्वजनिक शौंचालय निर्माणको काम अघि बढेको छ । सार्वजनिक ठाउँमा शौंचालय नहुँदा नागरिकले शौंचको लागि भोग्नु परेको समस्यालाई ध्यानमा राखेर सार्वजनिक शौंचालय निर्माणलाई अगाडि बढाइएको हो ।

वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यका अनुसार यो वर्षबाट शौंचालय निर्माणको काम सुरु भएको र आगामी वर्ष वडा नम्बर २१ का सबै टोलमा शौंचालय निर्माण गरिसक्ने बताए । आचार्यले शौंचालय निर्माणको काम सुरु भइसकेको जानकारी दिए । उनका अनुसार वडा नम्बर २१ का ३७ टोलमा एक÷एक वटा सार्वजनिक शौंचालय निर्माण गरिने छ ।

टोल टोलमा सार्वजनिक शौंचालय बनाउने कार्यलाई अन्य वडामा पनि विस्तार गरिने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । पोखरा मात्र नभएर कास्की नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको अवस्थामा टोल/टोललाई सफासुग्घर राख्न शौंचालय निर्माण गर्न महानगरले योजना बनाएको हो । प्रमुख जिसीका अनुसार यो आर्थिक वर्षमा अन्य वडाका १० ठाउँमा सार्वजनिक शौंचालय निर्माण गरिने छ । नागरिहरुको चाप बढी हुने १० स्थानमा यो वर्ष शौंचालय निर्माण गर्न लागिएको हो ।

पोखरा हल्लनचोक र डेभिजफल्समा पूर्ण अपांगता मैत्रीसहितको शौंचालय निर्माणको काम अघि बढेको महानगरको सहरी पूर्वाधार महाशाखाले बताएको छ । महाशाखाका अनुसार शौंचालयको डिजाइन समेत तयार भएको छ । पोखरा ७ स्थित मालपोत, वडा नम्बर १ को हरिचोक, वडा नम्बर २५ को मिलनचोक, पोखरा २६ को राखीडाँडा पिकनिकस्थल, पोखरा २८ रत्नशोभा मावि प्रांगणमा शौंचालय निर्माण गरिने छ ।

त्यसैगरी पोखरा १८ को भकुण्डे, पोखरा २१ दोबिल्ला पिकनिकस्थल, गौरीशंकर आधारभूत विद्यालयमा पनि सार्वजनिक शौंचालय निर्माण गरिने छ । निर्माण गरिने शौंचालय आधुनिक सुविधा युक्त हुने महानगरले बताएको छ ।

शौंचालय निर्माणको लागि महानगरले १ करोड रकम विनियोजन गरेको छ । त्यसैगरी गण्डकी प्रदेश सरकारले पोखराका ४ ठाउँमा स्मार्ट शौंचालय निर्माणको लागि ५० लाख सहयोग गरेको छ । स्मार्ट शौंचालय हल्लनचोक, डेभिजफल्स, मालपोत र हरिचोकमा निर्माण गरिनेछ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु