बजेटमा असन्तुष्टी जनाउदै पोखरा महानगरका वडा अध्यक्ष आन्दोलनमा

पोखरा, १२ असार / पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेटप्रति वडाध्यक्षले असन्तुष्टी जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।

विपक्षी नेपाली काग्रेसका ११ वडाका वडा अध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बुधबार महानगरपालिकाको योजनाको रातो किताब नै च्यातेर असन्तुष्ट व्यक्त गरेका थिए भने बिहीबार महानगरको मुल गेटमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् ।

तीन दिनसम्म चलेको बजेटमाथि छलफलको क्रममा वडाध्यक्षहरुले बजेट समानुपातिक वितरण नभएको दावी गर्दै महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिनु परेको वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले बताए ।

बजेटमा विभेद गरेको आरोप लगाउँदै उनीहरु आन्दोलित छन् । नाराबाजी सहित उनीहरुले महानगरको गेटबाहिर प्रदर्शन गरे । बजेट वितरण समानुपातिक नभएको काँग्रेसका प्रतिनिधिहरुको आरोप छ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचलाई केन्द्रीत गरेर बजेट विनियोजन गरेको अर्का वडाध्यक्ष शंकर बास्तोलाले बताए ।

काँग्रेसको विरोधकै बाबजुत महानगरको बजेट बुधबार नै बहुमतले पारित भएको छ । १ सय ७० सदस्य रहेको पोखराको नगरसभामा ४८ जना काँग्रेसका सदस्य छन् भने बाँकी सबै नेकपा तर्फका हुन् ।

केही वडाहरुमा मात्रै बजेट केन्द्रित भएको र काँग्रेसले जितेका वडाहरुलाई विभेद गरेको उनीहरुको आरोप छ । बजेटजति नेकपाले जितेका वडामा थुप्रिएको उनको गुनासो छ । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले बजेटमा कुनै विभेद नभएको दावी गरे ।

कमेन्टहरु
Loading...