पोखरामा बैशाख १ देखि प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलास निषेध गरिने

पोखरा १० फागुन पोखरा उपमहानगरपालिकामा आगामी वैशाख १ गतेदेखि प्लाष्टिक झोला र प्लाष्टिक जन्य गिलास निषेध गरिने भएको छ । प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुको साथै प्रदुषण बढाएको भन्दै पोखरा उपमहानगरपालिकाले आगामी बैशाख १ गते औपचारिक कार्यक्रमका बिच प्लाष्टिक झोला र प्लाष्टिकका गिलास निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ ।
नगर पालिकाले आगामी चैत्र १५ सम्म मौजाद रहेका प्लाष्टिक झोला तथा गिलास ब्यबस्थापन गर्न आग्रह सबैलाई अनुरोध गरेको छ । चैत्र १५ पछि उपमहानगरपालिबाट खटिएको अनुगमन टोलीले निषेधित बस्तु फेला पारेमा कानुन अनुसार कारवाही गर्ने कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए ।

निषेधित बस्तु प्रयोग भए नभएको अनुगमनको लागि टोली गठन गर्ने नगरपालिकाले जनाएको छ । पोखरा भित्रने मुख्य नाका विजयपुर, हेम्जा र स्याङजाको सिमानामा अनुगमन टोली खटाएर कडाई गर्ने पोखरा उपमहानगरपालिकाले जनाएको छ ।

पोखरा उपमहानगरपालिकाले २०६७ साउन १ गते पोखरालाई कालो प्लाष्टिकको झोला निषेधित क्षेत्र घोषणा गरेको थियो । सन् १९०७ मा अमेरिकाबाट उत्पादन सुरु भएको प्लाष्टिकको झोला अहिले विश्वभर फैलिएको छ । प्लाष्टिकको झोला कुहिन एक सय बर्ष लाग्ने, प्लाष्टिकले माटोको गुणस्तर घटाउने, प्रदुषण बढाउने र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने नगरपालिकाका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए ।

नगरपालिकाले सोमवार सरोकारवालासँग अन्तरक्रिया गरी आवश्यक राय सल्लाह, सुझाव संकलन समेत गरेको छ । कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले नगरपालिकाको अभियानको प्रशंसा गर्दै सघाउन सबैसग आग्रह गरे । प्लाष्टिकको प्रयोगबाट स्वास्थ्यमा पर्ने नकारात्म प्रभाववारे सबै सचेत हुनुपर्ने उनले बताए ।

कमेन्टहरु
Loading...