पोखरा, २३ असार / पोखरा भित्रिने मुख्य नाका बिजयपुर खोलाको पुल जोखिमा परेपछि बनाइएको डाईभर्सन खोलाले बगाउदै सामान लिएर आएका ट्रकहरु अलपत्र परेका छन् ।
पुल जोखिममा परेपछि ठूला गाडीका लागि छुट्टै डाईभर्सन बनाएर गाडीलाई पोखरा ल्याउने व्यवस्था मिलाएको थियो तर आईतबार राती आएको बाढीले डाईभर्सन बगाए पछि समस्या आएको हो ।
खोलामा राखिएको ह्युम पाईप सहितको डाईभर्सन बगाएको हो । साना सवारी साधन र बस भने विजयपुर पुलबाटै आउजाउ गरी रहेका छन् । डाईभर्सन बगाए पछि १० टनभन्दा बढी भार भएका गाडीको आवागमन नै बन्द भएको छ ।
विजयपुर पुल ठाउँ ठाउँमा चर्किएका कारण जीर्ण हुँदा १० टन माथि भार भएका सवारीलाई सोही डाईभर्सनबाट आवतजावत गराउँदै आइएको ट्राफिक कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए । अहिले पोखरा भित्रनै सयौं ट्रकहरु अलपत्र परेको र सडक डिभिजन कार्यालय पोखरा सगँ समन्वय गरेर समाधान खोजी रहेको बताए ।
बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत बगाएको छ । गत माघमा पुलको नियमित मर्मत सम्भारका क्रममा पुलको सपोर्टमा रहेका फलाम ठाउँ ठाउँमा चर्केको देखीएको थियो । त्यसपछि मालबाहक गाडी सञ्चालनमा रोक लगाइ डाइभर्सन बनाइएको थियो ।

पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्त सम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने भनिए पनि बेलिव्रिज निर्माण हुन सकेको छैन ।
विकल्पका रूपमा लेखनाथबाट सेती नदिको लामगादी, पटनेरी लगायतका स्थानमा रहेका पुलबाट हलुका सवारी साधन चढाउन सकिने भए पनि दोविल्लामा रहेको पुल समेत जोखिमपूर्ण रहेकाले लोड गाडीहरु आवतजावतमा कठिन छ ।
पोखरा २६ र पोखरा १४ जोड्ने पुलबाट दैनिक पोखरामा ६ हजार भन्दा बढि सवारी आवत जावत गर्ने गर्दछन् । २०५९ सालमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो । पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ ।