पोखरामा फागुन तेस्रो साता प्याराग्लाइडिङको प्रि—वल्र्डकप हुने

पोखरा, ७ फागुन/नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा फागुन तेस्रो साता पोखरामा १७ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाईडीङ प्रतियोगिता तथा प्याराग्लाईडिङ प्रि–वल्र्ड कप हुने भएको छ ।

अर्को वर्ष पोखरामा प्याराग्लाइडिङ वल्र्ड च्याम्पियनसिप गर्ने उद्देश्यका साथ वल्र्डकप गर्ने नेपाल हवाई खेलकुद संस्था (ना)का उपाध्यक्ष सोवित बानियाले जानकारी दिए । एक सातासम्म चल्ने च्याम्पियनसिपमा ३५ देशका १ सय ५० जना पाईलटले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने बिहीबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा बानियाले जानकारी दिए । नेपाल हवाई खेलकुद संस्था पोखरा (ना) को आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्घनमा फागुन १५ देखि २२ गते सम्म प्रतियोगिता पोखरामा संचालन हुनेछ ।

विभिन्न राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको रयाङकिङको आधारमा छनौट गरी प्रतिस्पर्धामा १ सय ५० जनालाई सहभागी गराउने ना का सचिव एवं प्रि—वल्र्डकपका संयोजक कृष्ण प्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितामा ३० जना नेपाली पाइलटहरुले प्रतिस्पर्धा गर्ने छन् । हालसम्म एसियाली मुलुकका अधिकाशं प्याराग्लाईडीङका पाईलटहरुले नाम दर्ता गराए पनि यस वर्ष भने युरोपियन मुलका पाईलटको सहभागीता कम रहेको उनले बताए । हङकङ, चाइना, मकाउ, भारत लगायतका देशबाट बढि मात्रामा सहभागीताका लागि रजिस्टेन गरेको उनले बताए ।

भूकम्पका कारण यस वर्ष युरोपियन देशबाट कम सहभागीता हुने उनको भनाई थियो । प्रतियोगितामा सहभागिताको लागि अन्तिम नाम दर्ता फागुन १४ गतेसम्म गराउन सकिने आयोजकले जनाएको छ । नेपाल खुल्ला प्याराग्लाइडीङ प्रतियोगिता सहित ५ वटा ईभेण्टमा प्रतिष्प्रर्धा हुने टेक्नीकल संयोजक रबिन गुरुङले जानकारी दिए । खुल्ला तर्फका विजेताले ५० हजार, उपविजेताले ४० हजार, तेस्रोले ३० हजार रुपैया नगदक, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

त्यसै गरी नेपालीहरु बिचको प्रतिष्प्रर्धाका विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रोले १० हजार र सान्त्वना हुने दुई जनालाई पाँच÷पाँच हजार रुपैया नगद, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । महिला र स्पोर्ट क्लासतर्फको विजेताले ३० हजार, उपविजेतालाई २० हजार र तेस्रोले १० हजार नगद रहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने गुरुङले जानकारी दिए । त्यसै गरि वेष्ट डेव्यु नेपाली विजेतालाई ट्रफि र मेडल प्रदान गरिने जानकारी दिए ।

अघिल्लो वर्ष पनि आयोजना भएको प्रि–वल्र्ड कपले सुरक्षा तथा रेस्क्युको कारण सहित प्राविधि समस्या भएकोले प्रि–वल्र्ड कपको मान्यता पाउन नसकेको गुरुङले बताए । उनले त्यस कारणले यस बर्ष सुरक्षा सहित रेस्क्यु एवं प्राविधिक हिसाबले निकै मजबुत पारेका जानकारी दिए । ‘अघिल्लो वर्ष रेस्क्यु टोली तीन वटा थियो,’ उनले भने ‘सुरक्षालाई मध्ये नजर गर्दै अहिले ५ वटा बनाएका छौ ।’ वल्र्डकपमा विशेष गरी पाईलटहरुलाई क्रसकन्ट्री(एक ठाँउबाट अर्को ठाँउसम्म तोकिएको टर्निङ प्वाईन्ट घुम्नुपर्छ)मा प्रतिस्पर्धा गराईने छ ।’ प्रतिस्पर्धाको निर्णय एफएआईका निर्णायकले गर्ने छन् । प्रत्येक पाईलटसँग हुने भ्यारियोमिटर(पाईलटले तय गरेको दुरी र विन्दु पत्ता लगाउने यन्त्र)ले देखाउने तथ्यांकको आधारमा विजेता घोषणा गरिने गुरुङले बनाए ।

क्रसकन्ट्रीको प्रतिस्पर्धा झण्डै एकसय किलोमिटरको दुरी तय गर्नुपर्ने हुन्छ । १४ सय ५० मिटरको उचाईको सराङकोटबाट उडेर विभिन्न ठाँउमा तोकिएको विन्दु पुगेर अवतरण गर्ने छन् । प्रतिस्पर्धामा सहभागि हुने पाईलटको ‘स्किल’ र ‘इकुपमेन्ट’ परीक्षण गरिने उनले बताए । पाईलटले चौधसय मिटरको उचाईबाट २६ सय मिटर उचाईको तय गरेर क्रसकन्ट्री पुरा गर्ने छन् । क्रसकन्ट्रीसँगै एक्रोव्या्टस पनि समावेश गरिने छ । बेष्ट ¥याफ्ट ल्याण्डिङ र बेष्ट स्पोट ल्याण्डिङको अंक पनि जोडिने छ । आठ दिनसम्म हुने प्रतिस्पर्धामा अंकको आधारमा विजेता घोषणा गरी पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ५६ लाख ८० हजार खर्च लाग्ने अनुमान आयोजक छ । प्रि–वल्र्ड कपको लागि वल्र्डकप कमिटिबाट प्राविधिकले स्थलगत अवलोकन समेत गर्ने भएको प्राविधिक टोली समेत आइ सकेको आयोजकले जनाएको छ । फागुन १५ गते देखि एक सातासम्म व्यावसायीक रुपमा प्याराग्लाईडीङको खेल व्यावसायीक उडान नहुने नाले जनाएको छ ।
पोखरामा हाल ६२ प्याराग्लाईडीङ कम्पनीहरु रहेका छन भने १ सय १२ जना लाईसेन्स प्राप्त पाईलट छन् । प्रतियोगिताको मुल आयोजक समिति गठन गरी विभिन्न १३ वटा उप–समिति गठन गरेको छ । मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट नेपालको आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले विगत १६ बर्षदेखि खुुल्ला प्याराग्लाइडिङ प्रतियोगिता हुदै आएको छ ।

कमेन्टहरु
Loading...