होमस्टे गाँउमा पर्यटक तान्दै ‘नौमति बाजा पार्क’

पोखरा, १८ कार्तिक / नेपाली मौलिक बाजाको रुपमा रहेका नौमती बाजा । कास्कीको माछापुच्छ«े गाँउपालिकामा पुराना मौलिक बाद्यवादनकै पार्क निर्माण गरिएको छ । पार्क नाम दिइएको छ–‘नौमति बाजा पार्क’ ।

पार्क यतिबेला गाँउलेको मात्रै ध्यानाकर्षणको केन्द्रविन्दु बनेको छैन् । आन्तरिक पर्यटकलाई समेत पार्कले लोभ्याएको छ । गाउँपालिकाको पर्यटकीय गाँउ धितालस्थित डाडाँपोखरीमा पार्क निर्माण गरिएको छ । पार्क आन्तरिक पर्यटकको गन्तव्य समेत बनेको छ ।

उत्सव, शुभकार्य तथा विभिन्न चाडपर्वहरुमा बजाईने नौमति बाजाको प्रवद्र्धन गर्ने र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यले निर्माण गरिएको बाजाको पार्कबाट त्यहाँ पुग्ने पर्यटकहरु लोभिन्छन् । धिताल पर्यटन प्रवद्र्धन समितिको पहलमा पार्क बनाइएको हो । मर्दी हिमाल पदयात्रा तथा पर्यटकीय धम्पुस गाउँमा जाने स्वदेशी तथा विदेशी पर्यटक पार्कबाट लोभिने समितिका अध्यक्ष सुनिल दाहालले बताए ।

पार्कमा प्रवेश गर्ने वित्तिकै शुरुमा दुईवटा सनईले स्वागत गर्छ । त्यसपछि दाहिनेतर्फ ट्याम्को, दमाहा र झ्याली छन् । देव्रेतर्फ ढोलकी , दमाहा र झ्याली छन् । माथिल्लो भागमा दुईवटा नरसिङ्गा छन् । नरसिङ्गा बजाउँदा गाँउनै रौनकता हुन्छ भन्ने मान्यताले पार्कको माथि राखिएको छ । ठूलो आकारको नरसिङ्गा बजाउँदा टाढैसम्म सुन्न सकिन्छ । उद्यानको संरक्षका लागि तारजाली लगाईएको छ भने तलपट्टी सुन्दर पोखरी छ ।

पार्कलाई व्यवस्थित गर्न माछापुच्छ«े गाँउपालिका वडा नं ६ ले आगामी वर्ष बजेट विनियोजन गर्ने योजना गर्ने जनाएको छ । वडाध्यक्ष हरिश्चन्द्र ढुंगानाले पार्क निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको चासो बढेको उल्लेख गर्दै त्यसको संरक्षण र सम्वद्र्धनमा वडाले विशेष पहलकदमी गर्ने उल्लेख गरे । ‘नौमति बाजा पार्क भन्दा माथि कश्यप ऋषिको मूर्ति स्थापना गर्ने योजना समेत स्थानीयको छ ।’ उनले भने ।

अहिले सिजन पदयात्राको हो । धम्पुस हुदैं आवत जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आईपुग्छन् । हेमजाकोटमा होम स्टे गर्ने पर्यटकको रोजाई नै पार्क बन्दैआएको छ । वडाध्यक्ष ढुंगानाका अनुसार सिजनमा दैनिक डेढसय आन्तरिक तथा बाह्य पर्यटक पार्कमा पुगेर केही घण्टा बिताउने गरेका छन् । ‘पार्कले आन्तरिक तथा बाह्य पर्यटकलाई केही समय अड्याउने(बिताउने)गरेको छ ।’ उनको भनाई थियो ।

पार्कमा राखिएका बाजाहरु ३ सयकेजी तामाको प्रयोग गरिएको छ । बाजा बनाउन तीन महिना लगाएर बनाइएको थियो । मुस्ताङका कालीगढ प्रेम विकले निर्माण गरेका हुन् । समितिले त्यहाँ रहेको २० रोपनी सार्वजनिक जग्गालाई पार्कको रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेको छ ।

अध्यक्ष दाहालका अनुसार तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री स्व. रवीन्द्र अधिकारीसँग पर्यटन प्रवद्र्धन गर्ने योजनाको प्रश्ताव लिएर जाँदा उनले बाजा सहितको पार्क निर्माण गर्ने प्रस्तावलाई सहर्ष स्वीकार गरेर रु १५ लाख बजेट विनियोजन गरेका थिए । सङ्घीय सरकारको १५ लाख लागतमा पार्क निर्माण गरिएको हो ।

गाउँपालिकाले प्राविधिक सहयोग गरेका थिए । पार्कसँगै पोखरी संरक्षणका लागि जलाधार संरक्षण कार्यालयले तीन लाख र गाउँपालिकाले एक लाख सहयोग गरेका हुन् । समितिका अध्यक्ष दाहालले पार्कलाई गाउँपालिकाको एक मुख्य पर्यटकीय गन्तव्य बनाउने बताए ।

‘नौमति बाजाको प्रवद्र्धन गर्दै यसलाई गाउँपालिकाको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दछौँ।’ उनको भनाई थियो । पोखराबाट ४५ मिनेटको दुरीमा पुगिने पार्कबाट अन्नपूर्ण हिमश्रृङखला, पोखरा बजार तथा गाउँपालिकाका विभिन्न वडाहरुको दृश्यावलोकन गर्न सकिन्छ । गण्डकी प्रदेश सरकारले पनि आन्तरिक भ्रमण वर्षको अवसरमा होमस्टेमा पर्यटकीय पूर्वाधार निर्माणमा पूँजीगत अनुदान उपलव्ध गराएसँगै यहाँ होमस्टेका लागि ३० लाख बजेट परेको थियो ।

मुख्य सडकबाट केही मिटरमात्र डाँडामा देखिने सुन्दर र आकर्षक बाजाको पार्क देख्न सकिन्छ । ‘बाजा पार्कले पदयात्रामा हिड्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँने गरेका छन् । कतिपयलाई बाजाको बारेमा जानकारी समेत दिदैं आएका छौं ।’ उनको भनाई थियो । बाजा सहितको पार्क नयाँ आकर्षण भएकाले पनि होमस्टेमा पुग्नेहरु रमाउँछन् । फरक अनुभूति गर्छन् । पार्कले गाँउमा पर्यटकको चहलपहल बढेको स्थानीय बताउँछन् ।

कमेन्टहरु
Loading...