फेवातालको ६५ र बुलौदी खोलाको ८ मिटर मापदण्ड बनाउन सुझाब

पोखरा, ६ मंसिर/ पोखराको भौगोलिक अध्ययन र भू—उपयोग नीति बनाएर मात्र भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड बनाउन राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन् ।

विज्ञ समूह गठन गरी पोखरा महानगरपालिकाले तयार गरेको भवन तथा पूर्वाधार निमार्ण सम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन कास्कीमा क्रियाशील राजनीतिक दलसँग भएको छलफलमा नेताहरुले मापदण्ड संवेदनशील विषय भएको र यसले दीर्घकालीन असर पार्ने भएकाले पोखराको जग्गाको उपयोग नीति बनाएरपछि मात्र मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

नेताहरुले कस्तो पोखरा बनाउने हो, दीर्घकालीन सोच राखेर महानगरले मापदण्ड निर्धारण गर्नुपर्ने उनीहरुको सुझाव छ । सार्वजनिक जग्गाको संरक्षण गर्दै दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्मणको मापदण्ड बनाउन पनि उनीहरुले सुझाएका छन् ।

छलफलमा

नेपाल कम्प्युनिस्ट पार्टीका नेकपाका नेता तथा पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले पोखराको भुबनोटको अध्ययन गरेर भार क्षमता कति छ, त्यसलाई हेरेर भवन तथा पूर्वाधार निर्माण गर्नुपर्ने बताए । अग्ला भवन समयको माग भएकाले जमीनको भार क्षमता अध्ययन गरेर ठाउँ अनुसार कति तलासम्म बनाउन मिल्ने हो, त्यसका अधारमा भवन निर्माणको मापदण्ड तोक्न उनले सुझाव दिए ।

उनले पोखरामा पार्किङको समस्या रहेकाले अब बन्ने घरमा अनिवार्य पार्किङको व्यवस्था गनुपर्ने सुझाए । ‘पृथ्वी राजमार्गकै मापदण्ड साविक लेखनाथ र पोखरामा फरक भएकाले त्यसलाई एउटै कायम गर्नुपर्ने उनको भनाइ छ । लामिछानेले फिर्के खोला र बुलौदी खोलाको मापदण्ड कम्तिमा पनि ८ मिटर बनाउन महानगरलाई सुझाव दिएका छन् । फेवातालको चारौतिर ६५ मिटर मापदण्ड बनाउनै पर्ने उनले बताए ।

नेपाली कांग्रेस पोखरा नगर सभापति बजीरमान श्रेष्ठले सहरलाई व्यवस्थित र पोखराको सुन्दरतालाई जोगाउने गरी मापदण्ड बनाउनु पर्ने बताए । उनले जग्गा उपयोग नीति बनाएर कुन जग्गा केका लागि प्रयोग गर्ने हो, त्यस अनुसार मापदण्ड बनाउन उनले सुझाव दिए ।

उनले बाटो चौडाइ अनुसार घर कति तला सम्म बनाउन मिल्ने त्यसका आधारमा मापदण्ड बनाउन सुझाव दिए । पोखरामा पर्यटक अग्ला घर हेर्न अनाउने हुनाले लेकसाइड क्षेत्रमा अग्ला घर बनाउनु नहुने उनको भनाइ छ । श्रेष्ठले मापदण्ड बारे नेपाली कांग्रेसको लिखित सुझाव नै मेयर मानबहादुर जिसीलाई बुझाएका छन् ।

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश कमिटीका अध्यक्ष शंकर बराल अव्यवस्थित रुपमा बनेका भौतिक संरचनालाई तत्काल नियन्त्रण गरी सहरीकरणलाई व्यवस्थित गर्ने गरी मापदण्ड बनाउन सुझाव दिए । नयाँ शक्ति पार्टीका नगर इन्चार्ज टीकाराम पौडेलले कृषि योग्य जमीन जोगाउने गरी महानगरले नीति बनाउनुपर्ने बताए ।

पोखरा उपत्यका नगरविकास

समितिका पूर्व अध्यक्ष जीतबहादुर गुरुङले मापदण्ड कार्यान्वयन हुने गरी बनाउन सुझाव दिए । उनले पोखराको औद्योगिक क्षेत्रलाई अनेत्र व्यवस्थापन गर्न पनि महानगरलाई सुझाव दिएका छन् । राप्रपाका गणेशलाल श्रेष्ठले राजमार्ग कति फराकिलो बनाउने हो, त्यसका आधारमा सेती नदी माथिका पुलको चौडाइ पनि सोही अनुसार बढाउन सुझाव दिएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डका बारेमा सरोकारवाला निकायसँग राय सुझाव लिएर नै त्यसलाई कार्यान्वयन तहमा लैजानका लागि दलहरुसँग छलफल गरिएको बताए ।‘अपनत्व सबैले लिनुपर्छ,’ जिसील भने,‘ सबैको सुझावलाई समेटेर मापदण्डलाई महानगरले कार्यान्वयनमा लैजान्छ ।’

महानगरपालिकाले प्राध्यापक डाक्टर भरतराज पहारीको संयोजकत्वमा गठन गरेको मापदण्ड निर्धारण सुझाव समितिले भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड २०७५ तयार पारेको हो । पोखराको भौगोलिक अवस्थालाई ध्यानमा राखेर वैज्ञानिक ढंगबाट नै मापदण्ड तयार पारिएको मापदण्ड निर्धारण सुझाव समितिका सदस्य सचिव तथा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्ले बताए । कार्यक्रम महानगरका प्रमुख जिसीको अध्यक्षतमा भएको थियो ।

कमेन्टहरु
Loading...