रसाइन भएको लिचीका कारणले भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी सहयोगमा, ३१ जेठ /भारतको उत्तरी क्षेत्रमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ ।

बिहारका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो ।

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो ।

रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ । रगतमा चिनी कम हुनुका पछाडि लिचीमा हुने रसायन भूमिका खेलेको उनीहरूले बताएका छन् ।

‘अन्तर्राष्ट्रिय विज्ञहरूले हामीलाई भने अनुसार लिची त्यस्तो प्रकारको रसायन हुन्छ । लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ । जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकार सञ्जय कुमारले भने,‘ मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो ।

बालबालिकाको मृत्यु हुनुमा लिचीको भूमिका छ भन्ने हाम्रो शंका हो । तर यो पनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ । लिची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन् ।’

बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए ।

बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ । सन् २०१३ मा पनि कम्तिमा ३ सय ५१ जना नागरिकको इन्सेफ्लाइटिसका कारण मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...