नक्कली नागरिकलाई नागरिकता दिएको आरोपमा पोखराका वडाध्यक्ष सहित ३ जना पक्राउ

पोखरा, ३१ साउन/ तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिकाको वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पक्राउ गरेको छ ।

कास्की प्रहरीले शुक्रबार वडाअध्यक्ष थापा सहित वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

यसअघि साउन २५ गते ८ जना पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । उनीहरुमाथि अनुसन्धान पछि वडाध्यक्षसहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पोखरा १८ सराङ्कोटका लेखबहादुर थापाले २ नातिनीलाई छोरी बनाई नागरिकता दिलाउन उनिहरुले सहयोग गरेको प्रहरीको आरोप छ ।

तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीका छोरीहरुलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप लेखबहादुरमाथि छ । लेखबहादुरका नातिनीहरु सरु र तासीआङ्मोले कास्की प्रशासनबाट जेठ २६ र असार ६ गते क्रमशः नागरिकता लिएका थिए ।

लेखबहादुरकै छोरीहरु हुन् भन्ने सर्जिमिन मुचुल्कामा दस्तखत गरेका स्थानीय बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर समेत समातिएका थिए । लेखबहादुरले छोरी दाबी गरेकाहरु छोरी नभएको पुष्टि भएपछि पक्राउ गरेको थियो ।

नागरिकता लिन पेस गरिएका सबै कागजातमा युवतीहरुका बाबुको नाममा हजुरबुवा लेखबहादुर थापाको नाम उल्लेख छ । जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासीआङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ । झुठो विवरण पेस गरी नागरिकता लिएको भन्ने उजुरीमाथि कास्की प्रशासनले छानबिन गरेको थियो । नेपाली वंशजको नागरिता दिलाउन झुठो विवरण पेस गरेको कास्की प्रशानको आरोप छ ।

उनीहरुलाई नागरिकता ऐन २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ । झुठो विवरण पेस गरी नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ ।

कास्की प्रशासनले उजुरी आउनासाथै ती युवतीहरुको नागरिकता जफत गरेको थियो । नागरिकता लिएका दिदी बहिनीको उमेरको फरक केवल ७ महिना छ । यही प्रकरणमा कास्की प्रशासनले ४ कर्मचारीलाई पनि विभागीय कारबाही सिफारिस गरेको छ ।

कमेन्टहरु
Loading...