मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

पोखरा, २७ भदौ / मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । पोखरा हुम्डेका लागि शुक्रबार समिट एयरले विमान सञ्चालन गरेको हो । गण्डकी प्रदेशको पहलमा शुक्रबार विमानस्थलमा समिट एयरको विमान अवतरण ग¥यो ।

प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभा सांसद पोल्देन गुरुङ लगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए ।

२०३९ सालमा बनेको यो विमानस्थलमा २०७० सालदेखि बन्द थियो । विमान पुनः सञ्चालनमा आएपछि प्रदेश मुख्यमन्त्री गुरुङले यसलाई नियमित बनाउन सवैको सहयोग जरुरी रहेको बताए । प्रदेश सरकारको तर्फबाट नियमित उडानका लागि सवै खोले सहयोगको समेत उनले बाचा गरे ।

असोज १० गते हुने अन्तराष्ट्रिय पर्यटन दिवसबाट विमानस्थलमा नियमित उडान गराउने प्रदेश सरकारको तयारी छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले यसको लागि प्रदेशले योजना बनाइरहको बताए ।

उनले पर्यटनसंग सम्वन्धित निकायसंग मिलेर मनाङ प्याकेजको बारेमा समेत आफुहरुले सोचिरहेको बताए । विमानस्थलमा थप पुर्वाधारका लागि समेत योजना बनिरहेको मन्त्री लम्सालले बताए ।

मनाङका संघीय सांसद पाल्देन गुरुङले यो परिक्षण उडान भएको जानकारी गराउदै अब पर्यटक आगमनको सिजनमा भने पनि नियमित गराइने बताए । अंग्रेजी महिनाको अक्टोबरदेखि मार्चसम्म मनाङ पर्यटक आगमनका लागि उपयुक्त मौसम हो ।

नौ सय मिटरको धावनमार्ग रहेको यो विमास्थल २०७० सालमा कालोपत्रे गरिएको थियो । तर कालोपत्रै भएदेखि नै नियमित उडान हुन सकेको थिएन ।

कहिलेकाही चार्टर विमानहरुले उडान गर्ने गरेको स्थानीयहरु बताउछन । ११ हजार १ सय ४५ फिट उचाइको हुम्डे विमानस्थलमा विश्वको १८ औ अग्लो स्थानमा रहेको विमानस्थलमा समेत हो ।

कमेन्टहरु
Loading...