नियमित महशुल तिरेका पोखराका होटललाई ५५ लाख सम्म अतिरिक्त विद्युत विल

पोखरा, २ असोज / हरेक महिनाको विद्युत महशुल नियमित रुपमा तिर्दै आएका पोखराका होटललाई नेपाल विद्युत प्राधिकरणले अतिरिक्त रुपमा लाखौं रुपैयाँको विल थमाएको भन्दै पोखराका होटलकर्मीहरुले ज्याजदी नगर्न प्राधिकरणलाई सचेत गराएका छन् ।

महिनैपिच्छे विल तिर्दा पनि पोखराका तारे होटलहरुका लागि प्राधिकरणको पोखरा शाखाले घरघरमा लाखौं रुपैयाँको विल थमाएको घटनाले आफूहरु आश्चर्यमा परेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

के आधारमा प्राधिकरणले एउटै होटलका लागि ५५ लाख रुपैयाँ सम्मको विल थमायो, आफूहरुलाई कुनै पूर्व सूचना नदिइएको पनि तुलाचनले सुनाए । यही गुनासो लिएर संघको एक टोली विहीबार प्राधिकरणको पोखरा कार्यालय मालेपाटन पुगेको थियो ।

प्राधिकरणको पोखरा कार्यालयका प्रमुख सुरेन्द्रकुमार साहले २०७३ सालको भदौ महिनादेखि तारे होटलहरुका सन्दर्भमा महशुल लिने सम्बन्धमा फरक व्यवस्था हुँदा त्यस्तो अवस्था आएको जानकारी दिए । कुन तारे होटल हुन्, कुन होइनन् आफुहरुलाई जानकारी नहुँदा एकैपटक ठूलो रकमको विल थमाउनुपर्ने अवस्था आएको दाबी उनको छ । “फरक व्यवस्थाबारे समयमा नै होटलहरुलाई जानकारी गराउन नसक्नु हाम्रो गल्ती हो, यसलाई म स्वीकार गर्छु”, उनले भने– व्यवसायीको समस्या बारे म प्राधिकरणको केन्द्रिय कार्यालयमा जानकारी गराउने छु ।

पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले विना पूर्व सूचना प्राधिकरणले एकाएक होटलहरुलाई अतिरिक्त विल थमाउनु आपत्तीजनक विषय भएको बताए । “हामी यो विल तिर्दैनौं”, उनले भने– नियमित विल तिरी राखेको अवस्थामा विना सूचना अतिरिक्त विल प्राधिकरणले थमाउनु सर्वथा गलत छ ।

व्यवसायीको समस्या प्राधिकरणको प्रादेशिक वा केन्द्रिय तहबाट आफैं मिलाउनुपर्ने भनाई पराजुलीको छ । दुई बर्ष भन्दा बढी अवधिको विल महशुल तिरिरहेका व्यवसायीलाई एकैपटक थमाउनु त्यो पनि विना जानकारी, यो मान्न सकिंदैन, उनले भने ।

अहिले होटलहरुको अकुपेन्सी दर पनि २० देखि ३० प्रतिशत भन्दा माथि नपुगेको, विभिन्न कारणले आशातीत रुपमा पर्यटक समेत नआएको र बैंकको ब्याज समेत मनोमानी ढंगले चर्को भएको अवस्थामा एकाएक प्राप्त लाखौं रुपैयाँको विद्युत विल तिर्न व्यवसायी सक्षम अवस्थामा नभएको व्यवसायीले बताएका छन् ।

होटल क्षेत्रलाई भन्ने बेलामा पर्यटन उद्योग भन्ने गरिए पनि उद्योग सरहको सुविधा होटलहरुले प्राप्त गर्न सककेको संघका अध्यक्ष तुलाचनले गुनासो गरे । सेवा क्षेत्र भनेर सोही अनुसार महशुल असुल्दा करोडौंको लगानीका होटलहरु टिकाउन नै समस्या परेको उनको भनाई छ ।

सरकारले कर माथि कर थोपरेको अवस्थामा विना पूर्वजानकारीको लाखौं रुपैयाँको विद्युत विल तिर्न प्राधिरणले बाध्ये पार्ने हो भने जति महिनाको विल हो सोही अवधि बराबरको समय व्यवसायीलाई उपलब्ध गराउनुपर्ने संघका निवर्तमान अध्यक्ष पराजुलीले सुनाए ।

विगतको अडिट रिपोर्टमा अहिले महशुल तिरेर खर्च समावेश गर्न समेत नमिल्ने यथार्थ व्यवसायीले स्मरण गराए । अहिले भएको खर्च विगतको खर्चमा देखाउँदा उल्टो ४२ प्रतिशत सम्म पेनाल्टी आन्तरिक राजश्व कार्यालयलाई तिर्नुपर्ने विषयमा अन्जान जस्तो बनेर प्राधिकरण प्रस्तुत हुन नहुने भनाई व्यवसायीको छ ।

कमेन्टहरु
Loading...