पाकिस्तान जाने ह्याण्डवलको राष्ट्रिय टिमलाई विदाई

काठमाण्डौं, ८ चैत्र /चैत्र १४ गते देखि १७ गतेसम्म मित्र राष्ट्र पाकिस्तानको फैसालावादमा आयोजना हुने अन्तराष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय टिमलाई सोमबार एक समारोहका विच विदाई गरीएको छ ।

पाकिस्तान जाने ह्याण्डवलको राष्ट्रिय टिमलाई विदाई
पाकिस्तान जाने ह्याण्डवलको राष्ट्रिय टिमलाई विदाई

राष्ट्रिय खेलकुद परिषदमा आयोजना भएको विदाई कार्यक्रममा परिषदका सदस्य सचिव केशव कुमार विष्ट, नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं दक्षिण एसियाली ह्याण्डवल महासंघका उपाध्यक्ष तेज बहादुर गुरुङ, संघका महासचिव सन्देस कुमार रेग्मी, कोषाध्यक्ष मिठाराम अधिकारी, मनोबैज्ञानिक प्रशिक्षक ईन्द्र गुरुङले नेपाली खेलाडीहरु सहितको १८ सदस्य टोलीलाई अविर तथा फुलमाला लगाएर सफलताको कामना गरेका हुन ।

कार्यक्रममा राखेप सदस्य सचिव विष्टले खेलकुदको विकासको लागि कुनै पनि अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडीहरुलाई सहभागि गराउन आफुहरु कटिवद्ध भएको बताए । उनले भने “हामीसंग पर्याप्त मात्रमा श्रोत साधन नभए पनि खेलाडीहरुको सिप तथा क्षमता अभिबृद्धिको लागि कुनै विकल्प खोजेरै भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि गराउनबाट बञ्चित गर्दैनौं । ” सागमा भएको खेलबाट राम्रो सिप यसपालीको प्रतियोगितामा देखाउन आग्रह गर्दै सहभागि हुन जान लागेका खेलाडीहरुको सफलताको कामना समेत गरे । उनले भने “ नेपाली खेलाडीहरुको खेल स्तर राम्रो छ, तर केहि प्राविधिक कुरामा ध्यान दिनु होला यसमा पदकको राम्रो सम्भावना छ । ”

खेलाडीहरुलाई खेलसंगै मनोवैज्ञानिक प्रशिक्षको आवश्यक भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष गुरुङले बताए । खेलाडीहरुलाई मनोबैज्ञानिक प्रशिक्षक ईन्द्र गुरुङले आवाज, अनुभव र चित्रणका बिषयमा केन्द्रीत गरी कुनै पनि खेलको समय अवधिमा एकै रफ्तारमा खेल खेल्न आग्रह गर्दै नेपालीहरुमा खेलमा सन्तुलन राखेर खेल्न नसक्दा कहिले काहि जित्ने खेलमा हार व्यहोर्नु परेको समेत बताए ।

रन्जना राईको कप्तानिमा १४ जना खेलाडी राष्ट्रिय टिममा रहेका छन भने उक्त नेपाली टिमको मुख्य प्रशिक्षक जिवन बहादुर बस्नेत, प्रशिक्षक टेक बहादुर विक, व्यबस्थापकमा प्रविन कुमार ठोकर तामाङ रहेका छन । त्यसै गरी पोखराका पत्रकार दिननाथ बराल रिपोटिङका लागि सहभागि हुदैछन । उक्त टिममा सशस्त्र प्रहरी वल एपिएफबाट र नेपाल आर्मीबाट ६÷६ जना खेलाडीहरु सहभागि भएका छन भने उदयपुरबाट दुई जना सहभागि भएका हुन । नेपाली राष्ट्रिय टोली मंगलबार काठमाण्डौंबाट गोरखपुर हुदै भारतको अमृत शहरमा पुगेर एक दिने मैत्रिपुर्ण खेलमा सहभागि हुने भएको छ । टिम पाकिस्तानको फैसलावादमा भने रेल मार्ग हुदै चैत्र १३ गते पुग्ने भएको मुख्य प्रशिक्षक बस्नेतले बताए ।

कमेन्टहरु
Loading...