गण्डकी प्रदेशले कर्मचारीलाई एक हप्ता घुम्न ‘घुमफिर भत्ता’ दिने

पोखरा, ६ भदौ / गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुमफिर एक हप्ताका लागि भत्ता दिने भएको छ ।

कर्मचारीलाई भ्रमण भत्ता स्वरुप १ महिनाको तलब बराबर रकम उपलब्ध गराउने कार्यविधि मन्त्रिपरिषद बैठकले पारित गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दिए ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री बस्नेतले कर्मचारीलाई घुमफिर भत्ताका लागि ९० लाख रुपैयाँ छुट्याइएको बताए । गण्डकी प्रदेशमा २ हजार २ सय कर्मचारी छन् ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिककै क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव दलबहादुर अधिकारीले ९० लाखबाट पुग्ने कर्मचारीलाई यो वर्ष र बाँकीलाई अर्काे वर्ष भत्ता उपलब्ध गराइने बताए ।

भ्रमण विदा र भत्ता लिन कर्मचारीहरु संघ र प्रदेश सरकारले तोकेका गण्डकी भित्रका पर्यटकीय गन्तव्य स्थल वा होमस्टेमा जानुपर्नेछ र परिवारको एकजना सदस्य पनि लैजानुपर्ने छ । यस्तो सर्त कार्यविधिमा छ ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरेको छ । गण्डकी प्रदेशमा करिब ३ सय होमस्टेलाई प्रदेश सरकारले सघाएको छ । होमस्टे प्रवद्र्धनको उद्देश्य सहित प्रदेश सरकारले कर्मचारीलाई घुमफिरमा हौस्याउन लागेको हो ।

मन्त्रिपरिषद्ले प्रदेश सभा रहेको नदीपुरमा २ वटा भवन निर्माण गर्ने निर्णय पनि गरेको मन्त्री बस्नेतले सुनाए । प्रदेश सभा भवन पुरानो भएकाले नयाँ भवन निर्माण गर्न लागिएको प्रवक्ता बस्नेतले बताए । उनका अनुसार प्रदेश सभा परिसरमा प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन पनि निर्माण गरिने भएको छ ।

कमेन्टहरु
Loading...