गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा

पोखरा, ९ बैशाख /गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा भएका छन् ।

कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार अर्याल सोमबार जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । उनी वकिल सहित सोमबार अदालत हाजिर भएका थिए ।

जिल्ला न्यायधिस लालकाजी श्रेष्ठको इजलासले अर्याललाई १७ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अर्यालसँगै पक्राउ पुर्जी काटिएका ८ जना रिहा भैसकेका छन् ।

कलेजका विद्यार्थीहरुले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

विद्यार्थीहरुको जाहेरीका आधारमा कास्की प्रहरीले फागुन २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही जाहेरीको भोलिपल्टै २ जनालाई पक्राउ समेत गरेको थियो ।

पक्राउ परेकाहरु गत चैत १८ गते नै जनही १७ लाख बुझाएर रिहा भएका थिए । यसअघि कलेजका कर्मचारीहरु दिनेश पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल एकसाता अघि रिहा भएका हुन् ।

प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठ, कर्मचारी हरिमाया ढुंगाना पौडेल र विश्वराज घिमिरे अहिलेसम्म पनि फरार छन् । विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाएका थिए ।

कमेन्टहरु
Loading...