पोखरामा चार आनाभन्दा कम क्षेत्रफलको घडेरीमा नक्सापास नदिने -अधिकारी

पोखरा, २८ फागुन / पोखरा उप–महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई शुक्रबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी नागरिकहरुले पोखरा उपमहानगरपालिको सेवा प्रवाह, कर्मचारीको व्यवहारमा सुधार गर्नुका साथै नयाँ थप भएका वडाहरुमा पूर्वाधार विकासमा जोड दिनुपर्ने माग गरेका थिए ।

त्यसैगरी हालै लागू भएको नयाँ मापदण्डलाई परिवर्तन गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन र छाडा चौपाया नियन्त्रणमा ध्यान दिनुपर्ने कुरामा पनि नागरिकहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । तरङ्ग प्रालिको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले जवाफ दिएका थिए ।

पोखरा उपमहानगरपालिकाले तत्कालै नक्सापास, सार्वजनिक जग्गा संरक्षण, सरसफाई, सार्वजनिक शौचालय र पार्किङ्ग व्यवस्थापन गरी पाँचओटा काम गर्नको लागि सार्वजनिक सुनुवाई कार्यक्रममा लिखित प्रतिवद्धता समेत गरेको छ । एक हप्ताभित्रै सार्वजिनक सूचना प्रकाशित गरी घरनक्सा पासको कार्य शुरु गर्ने, कम्तीमा १५ हात मोहोडा र क्षेत्रफल कम्तिमा ४ आना नभएको घडेरीमा घर बनाउनको लागि नयाँ नक्सापास नदिने कुरा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । यसअघि नै खरिद गरिसकिएका घडेरीको हकमा छुट्टै नीति बनाएर लागू गर्ने प्रतिवद्धता पनि पोखरा उपमहानगरपालिकाले गरेको छ ।

प्रतिवद्धता पत्रमा पोखरा उपमहानगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत झलकराम अधिकारी, विभागीय प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । त्यसैगरी पोखरा उपमहानगरपालिकाको २९ ओटै वडामा रहेका सार्वजिनक जग्गाको लागत संकलन गरी सार्वजनिक गर्ने र सार्वजनिक जमिन अतिक्रमण गर्नेलाई शून्य सहनशीलताको नीति अपनाएर कारवाही गर्ने प्रतिवद्धता पनि गरिएको छ ।

हेम्जा क्षेत्रमा सरसफाईको लागि नयाँ गाडीको व्यवस्था गरी फोहोरमैला संकलन गर्ने, व्यवस्थापनको जिम्मा लिने गरी सार्वजनिक शौचालय निर्माण गर्नको लागि माग भै आएमा तत्काल रकम निकासा दिने, पोखरा नगर क्षेत्रको पार्किङ्ग व्यवस्थापनको लागि निःशुल्क पार्किङ्ग, नो पार्किङ्ग क्षेत्रहरु निर्धारण गर्ने कुरा पनि उक्त प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा सहभागिहरुले फोहोर व्यवस्थान र ढल निकासी गर्नुपर्ने आवाज उठाएका थिए ।

कमेन्टहरु
Loading...