फोहरले विद्युत उत्पादनमा बाधा

सागरराज तिमिल्सिना
पोखरा, ६ फागुन /नहरमा फालेको प्लास्टिकले पानी थुनिंदा फेवा जलविद्युत आयोजनाको उत्पादनमा असर परेको छ । प्लास्टिकको अवरोधले आयोजनाले पुरै क्षमतामा उत्पादन दिन सकेको छैन । ताल र नहरमा जथाभावी फ्याकिएका प्लास्टिकले पानी थुन्दा विद्युत उत्पादनमा असर परेको विद्युत प्राधिकरण सेतीफेवा जलविद्युत केन्द्रका प्रमुख रामानन्दराय यादवले बताए ।

फेवा पावर हाउस, पोखरा
फेवा पावर हाउस, पोखरा

‘प्लास्टिकको फोहोरले पानी ठेल्दा क्षमता अनुसार सञ्चालनमा आउन सकेको छैन । यसले उत्पादनमै असर पारेको छ,’ यादवले भने, ‘खुल्ला नहरमा जथाभावी फोहोर फाल्दा समस्या आएको छ ।’ फेवातालबाट करिब चार सय मिटर लम्बाइको नहरबाट पावर हाउससम्म पानी पु¥याएर विद्युत उत्पादन गरिएको छ । ‘प्लास्टिकले रोकेर पुरै पानी बग्न सकेन । पानीको सतह बढाउँदा पनि खेर जान्छ,’ उनले भने, ‘प्लास्टिक एकैठाउँमा जम्मा हुँदा पानीको बहाव रोक्ने गरेको छ । दिनहुँ प्लास्टिक भरिएर हैरान हुने गरेको छ ।’

एक मेगावाट क्षमताको आयोजनाबाट अहिले जम्मा २ सय ५० किलोवाट मात्रै विद्युत उत्पादन भएको उनले बताए । ‘अहिले पानी निकै कम छ,’ यादवले भने कम्तिमा दुईवटा टर्वाइन चल्नुपर्ने हो, त्यो पनि चलेको छैन ।’ फेवापावर हाउसमा चारवटा टर्वाइन छन् । प्रत्येक टर्वाइनबाट २ सय ५० किलोवाटको दरले विद्युत उत्पादन हुने भए पनि पानी अभावमा एउटाबाट मात्र उत्पादन दिएको छ । तीनवटा टर्वाइन अहिले बन्द छन् ।

नहरमा फ्याकिएको फोहर झिक्न एकजना कर्मचारी नै खटिएको उनले बताए । ‘फेवादेखि बिरौटासम्मका सयौं जनाले फ्याकेको फोहेर एकजनाले हटाएर सकिएन,’ उनले भने ‘प्लास्टिक लगायतका फोहोर जलविद्युत केन्द्रमा नजाओस भनेर पानीको सतह बढाएका छौं । तर पनि सहज भएको छैन । फोहर फ्याक्न पानीको सतह बढाउदा आधाभन्दा बढी पानी खेर जाने गरेको उनले बताए । पानी बाहिरिँदा क्षमता हुँदाहुँदै पनि दुइवटा टर्वाइन चलाउन नसकिएको उनले बताए । प्लास्टिक फोहर मिसिन नदिन पानीलाई सुरुङ बनाएर लैजान खोजे पनि आसपासको खेतमा सिंचाई गर्नुपर्ने भएकोले नसकिएको उनले बताए ।

फेवा पावरहाउसको पानीको स्रोत फेवाताल हो । वर्षायाममा आएको लेदो र ढुंगाले नहरमा पानी कम भइरहेको उनले बताए । ७२ मिटर गहिराईमा पेनस्टकबाट खसालेर विद्युत उत्पादन हुँदै आएको छ । चारवटा टर्वाइन भए पनि पर्याप्त पानी हुँदा पनि तीनवटा टर्वाइनबाट मात्रै विद्युत उत्पादन हुने गरेको उनले बताए । चारनम्बर टर्वाइन बिग्रेको धेरैवर्ष भइसकेको छ । वर्षायाममा पूर्णरुपमा नहरमा पानी बग्दा पनि चारवटै टर्वाइन सञ्चालनका लागि आवश्यक पानी अपुग हुने गरेको यादवले बताए ।

उनले धान खेती गर्ने बेलामा सिंचाईका लागि छुट्टयाउनु पर्ने भएकोले पुरै क्षमतामा पावरहाउस चलाउन नसकिने बताए । पहिलो प्राथमिकता सिंचाईलाई र त्यसपछि जलविद्युतलाई रहेको उनले बताए । भारतीय सहयोगमा २०२६ सालमा पावरहाउस निर्माण भएको हो । भारतकै सहयोगमा सिंचाई र विद्युतका लागि एउटै मात्र नहर बनाइएको थियो । यहाँ उत्पादन भएको विद्युत ११३ केभी प्रशारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । पोखराको अर्काे सेतीपावर हाउसबाट १.५ मेगावाट विद्युत उत्पादन हुदै आएको छ । चीनको सहयोगमा २०४२ सालमा सेतीपावर हाउस बनेको हो ।

कमेन्टहरु
Loading...