पोखरा, १३ कात्तिक
पोखरामा डेंगू संक्रमितको सङ्ख्या बढेर ४८ पुगेको छ । असोज यता पोखराका विभिन्न अस्तपतालमा डेंगूका संक्रमित भेटिएका हुन् । गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पतालमा परिक्षणमा आएका बिरामीमा डेंगू भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए । उनले पोखरा महानगरपालिको वडा नम्बर ८ वरपरबाट धेरै डेंगूको विरामी आएको बताए ।
उनले असोज देखि कात्तिक ९ गते सम्म २२ जनामा संक्रमण डेंगूको विरामी भेटिएको बताए । उनले लामखुट्टेबाट हुने डेंगू रोग नियन्त्रण तथा रोकथामका लागि समुदाएमा अभियान चलाएको बताए । उनले विशेषगरी डेंगू रोग असोज र कार्तिक महिना बढी भेटिने गरेकाले पनि रोकथामका अभियान चलाएको बताए । ‘डेंगूका सार्ने लामखुट्टेले दिऊसोमा टोक्छ’ उनले भने ‘सफा पानीमा फुल पार्दछ, त्यसै पानीलाई छोपरे मात्रै राख्नु पर्दछ ।’
उनले घरदैलोमा पुगेर पोथी जातका लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्ने गरेको बताए । पोखरामा भेटिएका डेंगूका विरामीहरु अधिकांश भारत, तराई र कतारबाट आएकाको परिवारमा देखीएको बताए । चिकित्सकका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिने बताए । त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोके रोग सर्छ गण्डकी मेडिकल कलेजका मेडिकल विभागमा कार्यरत डाक्टर दुर्गा ढुङगनाले बताए ।
लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन ३ देखि १४ दिन सम्म लाग्न सक्छ । पहिलोपटक संक्रमण फैलिएका ठाउँमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिने उनले बताए । यस्तोमा रुघाखोकी र ज्वरोका सामान्य औषधि खाएर निको हुनसक्छ । दोस्रोपटक भने फरक भाइरस भएको लामखुट्टेले टोक्दा जटिलता बढ्न सकने बताए । उनले गण्डकी मेडिकल कलेजमा पर्वत, स्याङजा लगाएतका जिल्लाबाट समेत डेगूका विरामी आएको बताए । उनी उपचार पछि घर फर्किएको उनको भनाई थियो । डेंगी संक्रमणले शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिँदा छाला, पेट, आन्द्राजस्ता शरीरका भित्री भागमा रक्तस्राव हुने र बिरामीको मृत्यु समेत हुन सक्ने चिकित्सकको भनाई छ ।
डेंगू सङ्क्रमित बिस्तारै घट्छन्
पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले डेंगू संक्रमित बिस्तारै घट्दै जाने बताएका छन् । ‘जाडो सुरु भइ सक्यो,’ उनले भने, ‘त्यसैले पनि संक्रमित घट्दै जान्छन् ।’ संक्रमित क्षेत्रमा सरसफाई अभियान पनि सुरु गरिएको उनको भनाई छ । अन्य जिल्लाबाट पनि उपचारको लागि पोखरा आउँने हुनाले पोखरामा संक्रमित धेरै देखिएको उनले जानकारी दिए ।
