मर्मत संभार कोष नबनाउने समितिसँग सम्झौता हुदैन -अधिकारी भण्डारी

पोखरा, २० असार /जिल्ला विकास समिति कास्कीले योजनाको मर्मत सम्भारको लागि कोष नबनाउने उपभोक्ता समितिसँग अबदेखि योजना सम्झौता नगर्ने प्रतिवद्धता जनाएको छ । सोमबार भएको आर्थिक वर्ष ०७२÷०७३ को सार्वजनिक सुनुवाईमा जिल्ला विकास समितिको तर्फबाट स्थानीय विकास अधिकारी दामोदर भण्डारीले यो प्रतिवद्धता जनाएका हुन् ।

कोषमा उपभोक्ताले पनि रकम राख्नुपर्ने प्रावधान राखिएको पनि उनले जानकारी दिए । कास्कीको चापाकोट गाविस कार्यालय प्राङ्गणमा भएको सुनुवाई कार्यक्रममा नागरिकहरुको प्रश्नको उत्तर दिँदै स्थानीय विकास अधिकारी भण्डारीले फेवाताल व्यवस्थापन योजना ३ बर्षभित्रै बनाउने र ५ बर्षभित्रै उक्त योजना पूर्ण कार्यान्वयन गर्ने गरी काम भैरहेको बताए ।

 मर्मत संभार कोष नबनाउने समितिसँग सम्झौता हुदैन -अधिकारी भण्डारी
मर्मत संभार कोष नबनाउने समितिसँग सम्झौता हुदैन -अधिकारी भण्डारी

जिल्ला विकास समिति कार्यालयले नागरिकहरुलाई प्रभावकारी सेवा दिन नसकेको, लक्षित वर्ग कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासोको सनुवाई गर्दै भण्डारीले सेवालाई प्रभावकारी बनाउने विशेष ध्यान दिने र लक्षित वर्गको रकम दुरुपयोग भएको छ भने तत्काल जिल्ला विकास समितिको कार्यालयमा जानकारी गराउन कास्कीवासी नागरिकहरुलाई आह्वान पनि गरेका छन् ।

कास्कीको चापाकोट, कास्कीकोट र भदौरे तामागी गाविसका स्थानीय समस्याको सुनुवाई गर्ने लक्ष्यको साथ चापाकोटमा राखिएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले फेवातालको जलाधार क्षेत्रमा गएको बाढी पहिरोको कारण धनजनको क्षति भई बर्षैपिच्छे पीडा थपेको गुनासो गरेका थिए । हर्पन खोला लगायत फेवा जलाधार क्षेत्रको प्राकृतिक प्रकोप नियन्त्रणको लागि जिल्ला विकास सिमितिको नेतृत्वमा विषयगत कार्यालय समेतको सहभागितामा संयुक्त पहल भैरहेको पनि कार्यक्रममा जानकारी गराइयो ।

हर्पन खोलामा ढुंगा, बालुवा थुप्रिंदा खेतियोग्य भूमिभन्दा खोलाको सतह माथि भैसकेको हुँदा त्यहाँको ढुंगा, बालुवालाई निकालेर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर संयुक्त पहल भैरहेको जिल्ला प्राविधिक कार्यालयका वरिष्ठ इन्जिनियर नारायणप्रसाद श्रेष्ठले बताए । तरङ्ग प्रालिको व्यवस्थापन र सहजीकरण तथा नौलो घुम्ती नेपाल एल जी ए एफ कार्यक्रमको सहयोगमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा कास्कीको चापाकोट गाँउ विकास समितिलाई मुलुककै दोश्रो तथा कास्कीको पहिलो बालमैत्री गाविस घोषणाको तयारी भैरहेको र आगामी आर्थिक बर्षभित्रै सम्पूर्ण सूचकहरु पूरा गरी बालमैत्री गाविस घोषणा गर्ने प्रतिवद्धता पनि व्यक्त भएको छ ।

कमेन्टहरु
Loading...