विप्लव समूह कास्कीका सेक्रेटरी सहित १८ जना प्रहरी नियन्त्रणमा

पोखरा, २६ जेठ/ कास्की प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी सहित १८ नेता कार्यकर्तालाई शनिबार राती पक्राउ गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वडा नम्बर ११ बाट उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा विप्लव समूहका कास्की सेक्रेटरी विवेक भण्डारी (आक्रोश), विद्यार्थी संगठनका कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईसँगै पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी संगठनका नेताहरु प्रक्राउ परेका छन् ।

केही दिनयता विप्लव समूहको गतिविधि यो क्षेत्रमा बढेको सूचनाका आधारमा प्रहरीले निगरानी गरिरहेको र आमा समूहको भवनबाट साँझ ६ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई शनिबार राती नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइएको कार्कीले बताए । उनीहरुलाई आइतबार नै म्याद थपेर थप अनुसन्धान गरीने कार्कीले बताए । तर नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै २२ जना पक्राउ परेको जनाएको छ ।

कमेन्टहरु
Loading...