CAN

भबन संहिता पालना नगर्दा पोखराका घरहरु जोखिममा

949

गोकुल बानियाँ ,

२ माघ पोखरा । पोखरा उपमहानगरपालिकाले राष्ट्रिय भबन संहित कार्यन्वयनमा ल्याएको बिहिबार एक बर्ष भयो । तर आचारसंहिता पालना गर्नेको भन्दा तोड्नेको संख्या बढी छ । भुकम्पबाट हुने क्षति न्युनिकरणको लागि गत बर्षको माघ २ गते भुकम्प सुरक्षा दिबसको अबसरमा भबन संहित लागु गरिएको भएपनि पूर्ण कार्यन्वयनमा समस्या देखिएको छ ।

100_5936

नगरक्षेत्रमा बन्ने भौतिक संरचनालाई भूकम्प प्रतिरोधी बनाउन उपमहानगरपालिकाले ४ सय १७ निर्माण ब्यबशायीलाई तालिम समेत दिईसकेको छ भने नगरपालिका कार्यालयमा छुट्टै घरनक्सा तथा भुकम्प सुरक्षा शाखा स्थापना गरेको छ । तर मापदण्ड बिपरित संरचना निर्माणको क्रम बढ्दा यसले जोखिम बढाउदै लगेको सम्बन्धित निकायका प्रमुखहरुले बताएका छन् ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले सुरक्षित शहर निर्माणको लागि प्रत्येक नागरिक र समुदाय आफै सचेत हुनुपर्ने बताएका छन् । प्राकृतिक सम्पदाको अतिक्रमण, नगरक्षेत्रमा बनेका भवनको उचाई र बाक्लिदै गएको बस्तीले जोखिमलाई बढाएको उनले बताए । अधिकारीका अनुसार पोखरामा अहिले झण्डै ३६ सय घरहरु निर्माणको क्रममा छन् । बिना डिजाईन गगनचुम्बी घर बनाउने होडले भूकम्पिय जोखिमलाई बढाएको बिज्ञहरुले बताएका छन् ।

भुकम्प सुरक्षा दिबसको अबसरमा पोखरामा आज आयोजित कार्यक्रममा अधिकारीले पोखरालाई सुरक्षित शहर बनाउन नगरपालिकाले सबै पूर्ब तयारी गरिसकेको जानकारी दिए । भवन संहिताको कडाईका साथ कार्यन्वयनको साथै प्रकोप ब्यबस्थापन निर्देशिका, बित्तिय ब्यबस्थापन, प्रकोप कोष लगायतका काम गरिसकेको उनले बताए ।

प्राबिधिकको सल्लाह बिनानै घर बनाउनु, घर निर्माणको क्रममा प्रयोग हुने सामाग्रीको गुणस्तरियतालाई ध्यान नदिने र बिना डिजाईन घर बनाउदा क्षतिको जोखिम बढेको नगरपालिकाका ईन्जिनियर महेन्द्र बहादुर गोदारले बताए । नयाँ संरचना भुकम्प प्रतिरोधी बनाउनुको साथै यसअघि निर्माण भैसकेको संरचनालाई भुकम्प प्रतिरोधी बनाउनु चुनौतिपूर्ण रहेको गोदारले बताए ।

ईन्जिनियरिङ एसोसिएसन पोखराका अध्यक्ष रमेश बास्तोला र सचिब दिपक थापाले बिना डिजाईन र प्राबिधिकको सल्लाह बिना घर निर्माण नगर्न नगरवासीलाई आग्रह गरेका छन् । बिना डिजाईन मनलाग्दी घरको तला थप्दै जाने प्रबृतिले बिपत्ती निम्त्याउने तर्फ उनिहरुले सचेत गराएका छन् । कास्कीका निमिक्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले भईपरी आउने क्षति न्यूनिकरणको लागि आचारसंहिताको कडाईको साथ कार्यन्वयन गर्न र ईमान्दारिताको साथ पालना गर्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

नेपालका अन्य शहरहरु संगै पोखरा पनि भुकम्पको उच्च जोखिममा छ । पोखराका २० देखि ३० प्रतिशत घर मात्र भुकम्प प्रतिरोधात्मक छन् । बाकी ७० प्रतिशत घर भुकम्पिय जोखिममा छन् । पोखरामा ५ दशमलब १ रेक्टर स्केलको मात्र भुकम्प आए पनि सबै संरचना ध्वस्त हुने अबस्था रहेको भूगर्भबिद्हरुले बताएका छन् । भूगोल बिद् कृष्ण केसीका अनुसार नेपालमा काठमाण्डौपछि पोखरा भूकम्पको उच्च जोखिममा छ । उनका अनुसार सेति किनार, फेवातालको किनार र डेभिडफल्स आसपास बनेका संरचना झनै जोखिममा छन् ।

भुकम्प प्रतिरोधात्मक घर बनाउदा लागत ८ देखि १० प्रतिशत बढ्ने भएकाले पनि सम्बन्धित ब्यक्तिले प्राबिधिकको सल्लाह र कुनै डिजाईन बिना कम खर्चमा घर बनाउन खोज्दा जोखिम झनै बढेको छ । जोखिमयुक्त घर निर्माण गरी सिंगारपटारमा खर्च गर्नुभन्दा सुरक्षित भबन निर्माणमा जोड दिनुपर्ने बिज्ञहरुले बताएका छन् ।