चौथो पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक, चित्रबहादुरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पोखरा, ११ जेठ / टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधा मध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड चित्रबहादुर गुरुङ (बक्सिङ) लाई प्रदान गर्ने भएको छ । स्याङ्जा मनकामनामा २०१८ सालमा जन्मिएका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिणएशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिणएशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन् ।

यस अघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्णथापा, खड्गबहादुर रानाभाट र प्राडा वीरेन्द ्रसिंह गुरुङ सम्मानित भैसकेका छन् । वर्ष खेलाडी पुरुषतर्फ अमृत थापा (स्क्वास), युकेश गुरुङ (प्याराग्लाइडिङ) र रुपक नेपाली (फूलकन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

वर्ष खेलाडी महिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मी श्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) छन् । वर्ष उदियमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आईटीएफ तेक्वान्दो) तथा उत्कृष्ट प्रशिक्षकमा दीपक गोदार (फूलकन्याक्ट कराँते), भीमसेन शाक्य (ह्याण्डबल)र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन् ।

चर्चित खेलाडी विधा तर्फ एसएमएस आधारमा वर्ष खेलाडी पुरुष, महिला र उदियमान विधामा मनोनयन परेका ९ मध्ये एकलाई चर्चित घोषणा गरिनेछ । मञ्च संस्थापक एवं सल्लाहकार रामकृष्ण ज्ञवाली संयोजक रहेको खेलाडी छनोट समितिको सिफारिसलाई मञ्चको बैठकले अनुमोदन गरेको हो ।

वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड विधामा समेत अवार्ड दिइनेछ । सोको सार्वजनिक भैसकेको छैन । मूल कार्यक्रममा वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल, वर्ष महिलालाई वीगो स्कुटर सहित अवार्ड दिइनेछ । उदियमान खेलाडी, वर्ष प्रशिक्षक, चर्चित खेलाडीलाई जनही २५ हजार र उत्कृष्ट खेल संघलाई १५ हजार प्रदान गरिनेछ । पत्रकारिता अवार्ड विधामा २० हजार सहित अवार्ड रहेको छ ।

पत्रकार सम्मेलनमा छनोट समिति संयोजक रामकृष्ण ज्ञवालीले छनोट आधारबारे प्रष्टपारेका थिए । मञ्चअध्यक्ष एकराजगिरीको अध्यक्षतामाभएको कार्यक्रममा उपाध्यक्ष रञ्जन अधिकारीले स्वागत र महासचिव विजय नेपालले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...