‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’

पोखरा, २४ वैशाख /गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी÷व्यवसायीहरु सहमत भएका छन् । उनीहरुले उद्योगमा उपयोग हुने सामानहरु खेर फाल्नु भनेको पैसाको नास गर्नु हो भन्ने निष्कर्ष पनि निकालेका छन् ।

उत्पादनको क्रममा उद्योगहरुबाट खेर जाने सामानको न्यूनिकरण,स्रोत र साधनको उचित व्यवस्थापनसँगै स्वच्छतर उत्पादन एवं भवन तथा निर्माणसम्बन्धि धातुजन्य उत्पादन साधन र दक्ष आपूर्ति श्रृंखला ( मेटाब्युल्ड) बारे जानकारी दिन आयोजित कार्यक्रममा सहभागिता जनाउँदै उनीहरुले यस्तो निष्कर्षमा पुगेका हुन् ।

वातावरण तथा आर्थिक विकास समाज ( सिड नेपाल) र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अहिले उद्योगी÷व्यवसायीहरुमा लगानी वातावरण बचाउँदै लगानी गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । उद्योग÷प्रतिष्ठानहरुले कम लगानीमा धेरै प्रतिफल लिन र आफ्नो उत्पादनको प्रतिष्पर्धी क्षमता बढाउन कार्यस्थल सुधार, दक्षतामा बृद्धि र चुहावट रोक्नुपर्ने उनको भनाई थियो ।

सिडका कार्यकारी निर्देशक अमरबहादुर मानन्धरले जोखिम न्यूनिकरण र स्वास्थ्यमा ध्यान दिनाले उद्योगहरुले स्वच्छतर उत्पादन गर्न सक्ने बताए । उनले ठोस, तरल, वायु प्रदुषण,व्यवसायजन्य रोग,दुर्घटनाको जोखिमबारे उद्योगीहरु सचेत बन्नुपर्ने बताए । उनका अनुसार कास्कीमा ८ वटा उद्योगहरुले मेटाब्युल्ड परियोजनासँग सहकार्य गर्दै आएको र सहकार्यबाट ती उद्योगहरुले उर्जा वचतसहित प्रतिष्पर्धी क्षमता विकास गरेको दावी गरे ।

कार्यक्रममा उद्योगमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्था र उर्जाबारे कार्यपत्र प्रस्तुत गर्दै सिडका गोविन्द तिवारीले नेपालमा कार्यक्षेत्र असुरक्षित हुँदा वार्षिक कति कामदारले ज्यान गुमाउँछन् भन्ने आधिकारिक तथ्याङ्क नभए पनि हजारौँ घाइते र मर्नेको संख्या ठूलो रहेको बताए । श्रम ऐन २०७४ र नियमावली २०७५ मा कामदारको स्वास्थ्य र सुरक्षाबारे व्यवस्था गरिएको जनाउँदै उनले यान्त्रिक, रासायनिक,मनोसामाजिक, जैविक, भौतिक र शारिरीक खतराबाट कार्यस्थल सुरक्षित हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै अर्का श्रोतव्यक्ति दुर्गाबहादुर कारञ्जितले फोहर सफा गरेर मात्र कार्य क्षेत्र वा ठाउँ सफा राख्न नसकिने बताउँदै त्यसको लगि फोहर नै नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड थिए । उनले गृह सम्भार, प्रक्रियामा सुधार र उर्जाको पुनप्र्रयोगबाट ३० प्रतिशत उर्जा बचत गर्न सकिने धारणा राखे । यसैगरी पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले उर्जाको चुहावट रोक्दै कामदारको क्षमता अभिवृद्धिमा लाग्न उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाकी वातावरण शाखा प्रमुख कल्पना बरालले फोहर व्यवस्थापन गर्ने जिम्मेवारी नगरबासीको पनि भएको बताउँदै फोहरको बर्गिकरण र व्यवस्थापन गर्न नगरबासीसँग आग्रह गरिन् । औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष बलभद्र नकर्मीले पोखरा औद्योगिक क्षेत्रका उद्योगहरु वातवरण संरक्षणप्रति संवेदनशील भएको बताउँदै अझ थप सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा महानगरपालिकाका इञ्जिनियर निर्मलमान सिँह भण्डारीले उद्योग÷प्रतिष्ठानले फोहर व्यवस्थापन नगर्दा नगरबासीले महानगर गुहार्ने गरेको सुनाए । पञ्चकन्या मेटलका कार्यकारी निर्देशक दीपेन्द्र बस्ताकोटीले मेटाब्युल्ड परियोजनासँग मिलेर काम गर्दा उर्जाको बचत र कच्चा पदार्थको बढी सदुयोग भएको अनुभव सुनाए । यसैगरी चद्रोदय मेटलका रामजी ज्ञवालीले उत्पादनको क्रममा खेर जाने सामानको सदुपयोगले लागत कम भएको भनाई राखे । पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य सीता गुरुङले प्लाष्टिकजन्य फोहरलाई पुन ः प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

कमेन्टहरु
Loading...