मानहुँकोट बन्द गर

 

चैतमा सुरु भएको लकडाउनले नेपाली मनमा डरको मात्रा ह्वात्तै बढाइदिएको थियो । लकडाउन बिस्तारै खोलेपनि अमेरिका र ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या आकाशिँदै गएपछि नेपालीहरु पनि जीवनशैली परिवर्तन गर्दै स्वस्थ र सुरक्षित हुन भरमग्दुर उपाय अपनाइरहेका थिए । जसै लकडाउन र निषेधाज्ञा हटाइयो, नेपालीहरु फुक्काफाल भएर घरबाट निस्किए । चाडवाड सुरु भएपछि कोरोनालाई टेर्न छाडे । किनमेलसँगै घुमघाम सुरु भयो । पहिले बजारमा चहलपहल बढ्यो । त्यसपछि सराङकोटबाट प्याराग्लाइडिङमा उड्ने बढेपछि भीड अहिले तनहुँको मानहुँकोट पुगेको छ । एक, दुई दिन हैन अहिले दैनिक मानहुँकोटको छातिमा अटेसमटेस घुमन्तेको भार छ । भनेजस्तो दृश्य नदेख्नेहरु दोहो¥याई, तेहे¥याई पुगेका छन् । सामाजिक सञ्जालमा पोष्टिएका तस्बिर र भिडियोले नजानेहरुलाई अनपेक्षित व्यंग्य गरेको छ ।

 

दशैंअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनासँग नडराई घुमघाम गर्न हौस्याएका थिए । त्यसपछि बहादुर नेपालीले पाइला लम्काउन सुरु गरे । तर अब पाइला फर्काउने समय आएको छ । फेरि एकपटक अनुशासित भई कोरोनाविरुद्ध लड्ने बेला आएको छ । चाडवाडमा धार्मिकस्थल बन्द गरेर आस्थाको पाइला रोके पनि अहिले तनहुँको नयाँ गन्तव्यमा भीड बढेको छ । मानहुँकोट पुग्ने जो कोहीलाई हेर्दा उनीहरुले सुरक्षाका मापदण्ड पालना गरेका छैनन् । सयौं सवारीसधान ठेलमठेल गर्दै उकालो चढ्दा कोरोना संक्रमणलाई निम्त्याइरहेका छन् । शुक्रबार फ्रान्सको तथ्यांकलाई हेर्दा त्यहाँ भाइरसको दोस्रो लहर सुरु भएको प्रमाणित हुन्छ । जहाँ एकैदिन साठी हजार संक्रमित पुष्टी भयो । युरोपका अधिकांश देशमा पुनः लकडाउन सुरु भइसकेको छ ।

 

गण्डकी प्रदेशमा पनि कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लागेको छ । संक्रमितको संख्या ९ हजार नाघेको छ भने मृतक सय कटिसके । यस्तो बेलामा उमंगकासाथ मानहुँकोट पुग्नेहरु संक्रमणका कारक बन्न्न सक्छन् । मानहुँकोट त्यही रहिरहन्छ, त्यो कुनै कुम्भको मेला हैन, जो बाह्र वर्षमा एकपटक लाग्छ । मानहुँले यथेष्ठ प्रचार पाइसकेको छ । सहज दिनमा मानहुँकोटेले व्यापार व्यवसाय गर्ने नै छन् । हिजोको दिनसम्म प्रचार नभएको मानहुँ अब केही समय तत्अवस्थामै रहेपनि स्थानीयलाई केही घाटा हुनेछैन । अहिले भने स्थानीय प्रशासनले त्यहाँ घुमघाम बन्द गर्नै पर्छ ।

 

त्यसो त पर्यटन व्यवसाय पुरै डावाडोल छ, यस्तो बेला प्याराग्लाइडिङसमेत बन्द गर्नु उचित हुनेछ । त्यहाँ उड्ने र उडाउने दुबैले सुरक्षाका उपाय अपनाएका छैनन् । प्रदेश सरकारले २५ करोड बढी रकम कोरोना रोकथाममा खर्च गरेपनि प्रभाव शून्य छ । यसमा प्रदेश सरकारकोमात्र हैन हामी प्रदेशवासीको पनि दोष उत्तिकै छ । मुलुकमा कोरोनाको लहर थप बढ्नु अगावै मानहुँकोट र मानहुँजस्तै भीड बढ्ने स्थान र व्यवसाय हाललाई बन्द गर्नु नै बुद्धिमानी हुनेछ ।

कमेन्टहरु
Loading...