कुलमानले देशकै बागडोर सम्हाल्नुपर्छ

सामान्यतयः नेपाली राजनीतिमा खासै चासो नराख्ने नेपाली समाज र सडकमा कतै कसै को पक्षमा आवाज उठाउँदा पार्टीका झण्डा बोकेका पार्टीका कार्यकर्ता पार्टीकै नेताको पक्षमा नाराबाजी सुनिने शहरमा नेपाली इतिहासको एउटा नौलो घटना देखियो । विद्युत प्राधिकरणको जिम्मेवारी सम्हालेका १ जना कर्मचारीलाई पुनः नियुक्तीका लागि जनता सडकमा ओर्लिएका छन् । कुलमानको पुनः नियुक्तीको विषय र नेकपाका प्रभावशाली नेता तथा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभामा जाने विषय लगभग एउटै समयमा पर्न गयो ।

बामदेवले राष्ट्रिसभाको सपथ खाइसक्दासम्म विद्युत प्राधिकरण भने जिम्मेवारीविहीन छ । जनता पुनः नियुक्तीका लागि सडकमा ओर्लिरहँदा प्रहरीका धेरै लठ्ठी भाँचिएका छन् । तर सरकार केही नभएको झै गरि वास्ता नै गरिरहेको छैन । प्रधानमन्त्री ज्यू, राजनीतिक नियुक्ती पाउन चाकडी नै गर्नुपर्ने हो र ? कि फेरी आफ्नै पार्टीको कार्यकर्ता हुनुपर्ने ? राम्रा र जनताले चाहेको मान्छे लाई नियुक्ती गर्न मिल्दैन र ? मिल्दैनथ्यो भनौं भने नगरपालिकामा मेयर हारेका, प्रतिनिधिसभामा जनताले नपत्याएका त्यो सम्मानित उच्चसभामा कसरी पुगे प्रधानमन्त्री ज्यू ?

सायद प्रधानमन्त्री ज्यू र तपाईंका सल्लाहकार डाक्टर साहेबलाई थाहा होला, राष्ट्रियसभाको महत्व र गरिमा कति हुन्छ भनेर राष्ट्रियसभाको औचित्यलाई बुझ्ने हो भने त उर्जा विज्ञको रुपमा कुलमान घिसिङलाई राष्ट्रियसभामा लैजानुपर्ने हो । यहाँ त वर्ष गनेर लेवि तिरेको र पार्टीमा सन्तुलन मिलाउनकै लागि राष्ट्रियसभा जस्तो उच्च सभालाई दुरुपयोग गरिँदै छ । राम्रो गर्न खोज्नेलाई सबैले साथ दिन्छन् प्रधानमन्त्री ज्यू । तपाईंको ९ महिने बर्हिगमनमा जनता सडकमा आएकै हुन् । र फेरि जनताले अत्याधिक मतका साथ पठाएकै हुन् ।

अझै पनि तपाईंप्रति जनता आशावादी नै छन् । तर तपाई नेतृत्वको सरकारको केही रवैयाले जनता आजित भएका भने पक्कै हुन् । तपाई ठीक हुनुहुन्छ भने कुलमान पनि तपाईकै समूहमा अटाएमा तपाईंलाई थप हौसला मिल्नेछ भन्नेमा जनता आश्वस्त छन् । प्रधानमन्त्री ज्यू, तर तपाईंका सल्लाहकार यतिबेला तपाईंभन्दा धेरै उखानटुक्का मिलाएर ट्वीट गर्न सिपालु भएका छन् । राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिदै जनतालाई पाखेको संज्ञा दिन्छन् ।

प्रधानमन्त्री ज्यू, यो देशको मुहार फेर्ने साँच्चै सङ्कल्प लिनुहुन्छ भने पहिले तपाईंका सल्लाहकार पुर्नगठन गर्नुहोस् । सल्लाहकारमा आफ्ना आसेपासे, तपाईंको वरिपरी घुमिरहने भन्दा ज्ञान र सोच भएकालाई नियुक्ती गर्नुस् । अनि बल्ल पुरा हुनेछ तपाईंको सपना ।

तपाईंले नियुक्ती गरेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री नेम्वाङ जस्तै टिमलाई लिएर अगाडि बढ्नुस् । कुलमान घिसिङ जस्ता सच्चा र इमान्दार कर्मचारीलाई संरक्षण गर्न किन ढिलाई गर्दै हुनुन्छ ? हुन त रमेश खरेल कै विषयले पनि कतिपय धेरै कुराको आँकलन गर्न सकिन्छ यो देशमा ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यू, नेकपामा बामदेव जत्तिको प्रभावशाली नेता अर्को कुनै थिएनन् ? जसका लागि तपाईंहरु यति विधिविधान मिचेर राष्ट्रियसभामा लैजाँदै हुनुहुन्छ ? त्यस्तो के कायापलट हुँदैछ बामदेव राष्ट्रिय सभामा गएपछि ? के तपाईंको सपना पूरा गर्न बामदेव को खाँचो भएको हो कि कुलमान को ?

देशमा भएका यत्रो आन्दोलन नेताका लागि मात्रै हो ? जनताले दिएको रगतको बलिदान नेता र उसका आफन्तका लागि मात्रै हो त ? नेताका छोरीबुहारीका लागि जनताले रगत बगाएका हुन् ? पार्टीको सन्तुलन मिलाउन चुनाव हारेकालाई राष्ट्रियसभा भन्ने नजिर किन बसाल्दै हुनुहुन्छ ? यो अहिले सबैले प्रश्न गरिरहेका छन् तपाईंलाई ।देशभित्र रहेका अन्य प्राधिकरणको जिम्मेवारी सम्हालेका गुमनाम भैरहदा कुलमान यसरी चम्केका छन् कि मन्त्री र प्रधानमन्त्री कै चर्चा कम हुन थाल्यो । कतै कुलमान घिसिङले मन्त्री र प्रधानमन्त्रीको चर्चामा खलल पु¥याएको झोंकमा कुलमानलाई पुन नियुक्ती दिन नखोजिएको त होइन ?

कुलमानले अब फेरि मात्रै प्राधिकरणको जिम्मेवारी समालेर समय खर्चन हुँदैन । सरकार चलाउनेले आफ्नो पाराले चलाउनुहोस् । कुलमान जी, हामीलाई यति विद्युत उत्पादनले पुग्दैन । हामीले कम्तीमा ४३ हजार मेघावाट विद्युत उत्पादन गरेर छिमेकी भारतलाई मात्रै होइन, विश्व बजारलाई बेच्नु छ । यसका लागि तपाईं प्राधिकरणको जिम्मेवारीले मात्रै सम्भव छैन ।

त्यसैले तपाईं कम्तीमा उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने साहस गर्नुस् । सरकारले प्राधिकरण प्रमुख नबनाए पनि जनताले उर्जा विज्ञ कुलमानलाई माननीय बनाएर पठाउने छन् । कुलमान जी, तपाईंले आत्मबल, साहस, इमान्दारितालाई आत्मसात गर्नोस् । जनताले तपाईंलाई प्राधिकरणको मात्रै होइन सिंगो देशको बागडोर समाल्ने ठाउँमा पु¥याउने छन् । कुलमानको इमान्दारिता र कामप्रतिको जवाफदेहिताले एक दिन अवश्य नेपाल जस्तो सुन्दर भूमिले तपाईं जस्तै इमान्दार नेतृत्वमा मुहार फेर्ने छ ।

कमेन्टहरु
Loading...