जुम्लामा आगलागी हुँदा साढे १ करोडको क्षति

जुम्ला । जुम्लाको सदरमुकाम खलंगा बजारस्थित चन्दननाथ नगरपालिका ५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा १ करोड ४० लाख ५८ हजार १ सय बराबरको भौतिक सम्पत्ति क्षति भएको हो । प्रहरीको मुचुल्का अनुसार आगलागीबाट घरधनी देवेन्द्र शर्माको ३८ लाख ८२ हजार क्षति भएको छ भने सोही घरमा भाडा लिएर व्यवसाय गरिरहेका राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा ५० लाखको क्षति भएको हो ।

गोदाममा राखिएको खुद्रा, खाद्यान्न सामग्री, इलेक्ट्रोनिक सामान ल्यापटप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायत सामान जलेर नष्ट भएका छन् । प्रहरी सहायक निरीक्षक देवराज भट्टराईका अनुसार देवेन्द्र शर्माकै छेउमा रहेको लविनध्वज खाँडको घरमा समेत आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।

सोही घरमा भाडा लिएर कपडा पसल गरिरहेका पदमराज चौलागाईंको प्रकृति सपिङ सेन्टरमा पनि ६ लाखको क्षति भएको हो । त्यस्तै जनकध्वज खाँडको घरमा ५० हजार, सोही घरमा भाडामा पसल गर्ने अनुपम कपडा पसलको १ लाख र आसिप खान र रेस्मा जोलाको २६ हजारको क्षति भएको छ । देवेन्द्र शर्माको घरबाट सल्केको आगोले २ घरमा १ करोड ४० लाखको क्षति गरेको हो ।

बेलैमा आएको चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियताले मुख्य बजार आगलागी हुनबाट जोगिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीको भनाइ छ । सोलार ब्याट्री चुहावट भएर आगलागी भएको प्रहरीको अनुमान छ । खलंगामा ३ दिनदेखि बत्ती नआएको र घरमा पनि कोही नभएको अवस्थामा रहस्यमय तरिकाले आगलागी भएको छ ।

यसैबीच चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । नगरपालिकाले आगलागी पीडित ८ जनालाई चामल र प्रतिव्यक्ति १० हजारका दरले राहतस्वरुप रकम उपलब्ध गराएको नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...