पोखरामा मंसिर २० र २१ गते लोपोन्मुख बाजा सम्मेलन हुने

पोखरा, १८ मंसिर/ मंसिर २० र २१ गते पोखरामा लोपोन्मुख बाजा सम्मेलन तथा अन्तरक्रियात्मक गण्डकी प्रदेशको बाध्यवादनहरुको प्रस्तुति गण्डकीका धूनहरु कार्यक्रम हुने भएको छ। लोपोन्मुख नेपाली लोकबाजा संरक्षणका साथै विकास गर्ने उद्धेश्यसहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना एवम हिमाली साँस्कृतिक परिवारको सहकार्यमा हुने कार्यक्रम अन्तिम तयारीमा पुगेको बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

पत्रकार सम्मेलनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संगीत विभाग प्रमुख अशोक राईले प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्र्तगत गण्डकीका धूनहरु आयोजना गरिएको बताउनुभयो। यस अघि प्रदेश नं.१ मा बहुभाषिक गीत संगीत प्रस्तुति, सुदुर पश्चिमाञ्चल प्रदेशको धनगढीमा सातै प्रदेशको संगीत सम्मेलन र प्रदेश नं.३ काठमाण्डौं सारांगीको देश कार्यक्रम सम्पन्न गरिसकेको प्रतिष्ठानले यसपटक नेपाली मौलिक, परम्परागत, लोपोन्मुख बाजा र बाजाका धुनहरु संरक्षण तथा विकासका लागि गण्डकीका धूनहरु आयोजना गरिएको कार्यक्रम संयोजक राईले बताउनुभयो।

कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रचलित एवम लोपोन्मुख बाजा प्रदर्शनी, कार्यपत्र प्रस्तुती, अन्तरक्रियाका साथै बाजाका धूनहरु प्रस्तुत गरिने राईले बताउनुभयो। उहाँका अनुसार मंसिर २० गते गैह्रापाटनस्थित कुमुदिनी होम्समा बाजाहरुको प्रदर्शनी र उपल्लो मुस्ताङका धुन, गण्डकी प्रदेशको पञ्चैबाजा र नवलपुरको थारु धूनका बारेमा कार्यपत्र प्रस्तुती र अन्तरक्रिया कार्यक्रम रहेको जानकारी दिनुभयो।

यसरी नै २१ गतेंं पोखरा उद्योग बाणिज्य संघमा गण्डकी प्रदेशका ११ जिल्लाका कलाकारहरुबाट बाद्यबादन प्रस्तुती गर्ने कार्यक्रममा संयोजक समेत रहनु भएका प्राज्ञ अशोक राजईले जानकारी दिनुभयो।

कार्यक्रममा कास्की जिल्लाको प्रतिनिधित्व गर्दै तेर्सापट्टि ताया मचा समितिले नेवारी धुन, मृदा, झ्याली, ता र लोपोन्मुख बाजा ढल्कीको प्रस्तुति गर्ने, भलकमान गन्धर्व सारांगी पाठशाला कास्कीले गाईने धुन, डाफेचरी, आर बाजा, सारांगी, मादल, मुजुरा प्रस्तुति गरिने हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले जानकारी दिनुभयो।

लोपोन्मुख लोकबाजाहरु नयाँपुस्तालाई जानकारीका साथै बाजाको धुनहरु सुनाउने उद्धेश्यसहितको उक्त कार्यक्रममा लमजुङ जिल्लाको प्रतिनीधित्व गर्दै दुधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्याली बाजा प्रस्तुत गर्ने, मनाङ जिल्लामा बजाई बाजाको प्रतिनिधित्व गर्दै बौद्ध अर्घौ सदन पोखराले लामा बाजा र बौद्ध धुन, तमु प्ये ल्हु संघले लमजुङ, कास्की, गोर्खा, स्याङजाको प्रतिनिधित्व गदै पच्य, क्याप्री, झाक्रीको बाजा धुन, ढ्याङग्रो, शंख र झ्यालीसहित प्रस्तुति गर्ने बाजा सम्मेलन संयोजक तेज केसीले बताउनुभयो।

पर्यटन वर्ष २०२०लाई समेत सम्बोधन गदै आयोजना हुने कार्यक्रममा मुस्ताङ जिल्लाको प्रतिनिधित्व गदै हिमालय ग्रुपको प्रस्तुति कर्म फारम, सेब्रु धुन, टुङ्ना, सारांगी, बासुरी, ह्याङ्जे, ढग्ने बाजाहरुको प्रस्तुति, बाग्लुङ पर्वतको पञ्चै बाजा समुहले लोपोन्मुख धुनहरु र बाजाहरु सनाही, नरसिंह, दमाह, ढोलकी, ट्याम्को बनाउने भएको छ भने नवलपुर थारु समुहले थारु सँस्कृति धुनहरु, मानर र मुजुर बाद्यबादन प्रस्तुति गर्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

यस्तै गरी स्याङजा जिल्लाको प्रतिनिधित्व गर्दै सिर्सेकोट नौथुम तमु समाजले ढिलो भाका, पातको धुन प्रस्तुति गर्ने, तनहु जिल्लाको प्रतिनिधित्व गदै लामा मगर समाज घाँसीकुवाले कौडा धुनसँगै खैजडी, झ्याली र मुजुरा,स्याङजको जुनेली भजन कृतन समुहले भजन प्रस्तुतिका लागि तयारी भएको हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले जानकारी दिनुभयो।

बाजा सम्मेलन र धुनहरु प्रस्तुति कार्यक्रममा विद्यालयस्तरबाटै जानकारी गराउन विद्यार्थीहरुको विशेष सहभागीता हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रमको २० गते पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन र २१ गते प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यमा समापन कार्यक्रम हुने बताइएको छ।

कमेन्टहरु
Loading...