हेमजा, १४ भदौं / हेमजा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो हेमजा ८८.५ मेगाहर्जको आयोजनामा शनिवार भएको समृद्घिका लागि कृषि र पर्यटन विषयक तीजगीत प्रतियोगितामा नमूना आमा समूह प्रथम भएको छ ।
१६ समूहलाई पछि पार्दै उक्त आमा समूह प्रथम भएको हो।त्यस्तै कमल जैसी आमा समूह दोस्रो, गौरीशंकर आमा समूह तेस्रो र शान्ति आमा समूह सान्त्वना भएका छन् ।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश नगद रु.२० हजार, १५ हजार, १० हजार र ५ हजार साथमा प्रमाणपत्र पुरस्कार पाएका छन् ।
त्यस्तै लोकदोहोरी प्रतिष्ठान हेमजा इकाई नृत्यमा र स्नो भ्यू बोडिङ स्कूलको समूह भेषभुषामा उत्कृष्ट बनेको छ । उनीहरुले समान नगद रु. तीन हजार पाँच सय र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद मिना गुरुङले महिला विना पुरुषको विकास अपुरो रहने तर्क गरिन्। गुरुङले तीजमा देखावटी र तडकभडक नगर्न पनि सुझाएकी छन् ।अवका महिलाले आम्दानी गरेर पुरुषसँग प्रतिष्पर्धा गर्ने हो, यो या त्यो कारण देखाई उनीहरुसँग दिनहुँ पैसा माग्ने होइनः त्यसका लागि महिलालाई स्वरोजगारमूलक तालिम चाहिने पनि उनले औँल्याएकी छन्।
हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिनाले तडकभडकलाई प्राथमिकता दिने अधिकार कसैसँग नभएको औँल्याउँदै कतिपय महिलाले गहना तथा महङगा कपडा प्रदर्शन गर्ने चाडका रुपमा तीजलाई लिने गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका थिए ।
महिला संजाल हेमजा अध्यक्ष रमा त्रिपाठीले भड्किलो तीज रोक्नुपर्ने भन्दै आफूहरुले नारी जागरण अभियान मार्फत संचेतना फैलाईरहेको बताइन् ।
सो अवसरमा गरिमा विकास बैक हेमजा शाखा प्रमुख शंकर सापकोटा, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकार अरुणस्तोम त्रिपाठी लगायतले पनि भनाई राखेका थिए।कार्यक्रमका बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीका प्रतिनिधिहरुले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए।त्यस्तै गुडलक मन्टेश्वरीका विद्यार्थीले पनि नृत्य देखाएका थिए।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रेमराज अधिकारी, कलाकार मिना अधिकारी, नवराज अधिकारी, रीता कार्की कुँवर र गंगा त्रिपाठीले प्रतियोगितामा निर्णयकको भूमिका निर्वाह गरेका थिए।
हेमजा संचार सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सदस्य सोमनाथ पौडेलले सहकारीका सात सिद्घान्त वाचन, सहसचिव बसन्त बास्तोलाले स्वागत तथा सचिव नारायणप्रसाद बास्तोला र रेडियोका स्टेशन म्यानेजर परशुराम अधिकारीले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए।