फाइल तस्बिर
पर्वत, २५ वैशाख/पोखरा–बागलुङ सडकलाई फराकिलो बनाउने कामलाई छिटो छरितो गर्न दैनिक छ घण्टा बन्द गरेको छ । सडक फराकिलो बनाउन कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गरी काम गर्न थालेको हो ।
घट्टेखोलादेखि नयाँपुल खण्डमा सडक फराकिलो पार्ने काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले बिहान ७ देखि ८ः३० बजेसम्म डेढ घण्टा तथा बिहान ९ः३० देखि १०ः३० सम्म एक घण्टा बन्द गर्न थालिएको छ भने अपराह्न १२ः३० देखि २ बजेसम्म र ३ देखि ५ बजेसम्म सडक बन्द गरेर काम गरिरहेको कम्पनीले जनाएको छ ।
दिनमा चार पटक गरी छ घण्टा बन्द गरिए पनि यात्रुको चाप र काम हेरेर बीचमा छाड्ने गरेको कम्पनीले जनाउको छ । मध्यपहाडी सडक आयोजना पश्चिम खण्डका सिनियर डिभिजनले सडक बन्द गर्ने निर्णय गर्न स्थानीय प्रशासन, सरोकार भएकाहरू सहितको बैठक बसेर निर्णय गर्नुपर्ने भए पनि अहिले निर्माण हुने र कसैलाई लामो समय रोकिनु पनि नपर्ने ढंगले काम गर्न निर्देशन दिएको बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सडक बन्द गर्ने औपचारिक निर्णय नभएको बताउँदै निर्माणको आवश्यकता हेरेर आयोजनाले काम अगाडि बढाएको हुन सक्ने बताए । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो राजमार्ग मध्ये केहि छाडेर नयाँ स्वरूपमा ढाल्ने गरी मर्मतसम्भार तीव्र पारिरहेको छ। सो सडक विस्तार र स्तरोन्नति गर्न करीब तीन अर्ब ३२ करोड लागत पर्नेछ ।