पोखरा, ७ मंसिर/विद्यालय स्तरीय जिल्ला व्यापी एकल लोकगीत प्रतियोगितामा डायमन्ड माविकी अनिशा ढुंगाना प्रथम भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको आयोजनामा भएको प्रतियोगितामा १३ विद्यालयलाई पछि पार्दै ढुंगाना प्रथम भएकी हुन् ।
प्रतियोगितामा केफ माविको आकाश गौतम द्धितिय भए । अम्बिका माविको अनिषा अधिकारी तृतीय र छोरेपाटन विद्यालयकी अन्जना सुवेदी सान्त्वना भइन् । प्रतियोगितामा विजेताले क्रमश ः ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँ पाए ।
पास्कल स्कुलको प्राङगणमा भएको प्रतियोगितामा कास्की मोडनाइजको बिहानी पौडेलले हौसला पुरस्कार स्वरुप एक हजार रुपैयाँ पाइन् । प्रतियोगिहरुले बालअधिकार सम्बन्धी गीत गाएका थिए । प्रतियोगिताको निर्णायकमा गायकद्धय जीवन दाहाल, तारापती सुवेदी र गायिका सरला पाण्डे थिए । प्रमुख अतिथि एवं गायिका कमला सुनारले प्रतियोगिता हारजीतको हुने हुँदा कोही निराश नहुन आग्रह गरिन् । उनले तीन विद्यालयलाई व्यक्तिगत तर्फबाट हौसला स्वरुप ५ सयको दरले पुरस्कार दिएकी थिइन् । लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले हरेक स्कुलमा यस्ता कार्यक्रम हुन आवश्यक रहेको बताए ।
उनले पहिला–पहिला स्कुलमा दोहोरी प्रतियोगिता हुने भएपनि आजकल हराउँदै गएको प्रस्टाए । ‘बोर्डिङ स्कुलमा यस्ता कार्यक्रम गर्न आवश्यक छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थीलाई लोकगीतको महत्व थाहा हुन्छ ।’ उनले गायनलाई मिहनत गर्न सके भोली राम्रो कलाकार बन्न सकिने विद्यार्थीलाई सुझाव दिए । कार्यक्रममा विभिन्न अतिथि कलाकारले साँगीतिक प्रस्तुति राखेका थिए भने हाँस्य व्यंग्यलाई पनि समावेश गरिएको थियो । प्रतिष्ठानकास्कीका अध्यक्ष प्रेमराज अधिकारीको अध्यष्क्षतामा सम्पन्न उत्त कार्यक्रममा प्रथम उपाध्यक्ष टेक क्षेत्रीले स्वागत,सचिब एवं कायक्रम संयोजक ज्ञानेश्वर सुबेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश र सदस्य एवं प्रचार बिभाग प्रमुख परशुराम अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।