नेपाल चलचित्र ए मेरो हजुर २ को भदौ १६ गतेदेखी प्रदर्शनमा आउन लागेको छ । सो चलचित्र काठमाडौं, पोखरासहित देशभरका सबै हलहरुमा भदौ १६ गतेदेखी एकसाथ प्रदर्शनमा आउन लागेको हो ।
करीब डेढ करोडको लागतमा चलचित्र बनेको निर्माण पक्षको दाबी छ । सुनिलकुमार थापाको निर्माण र चर्चित अभिनेत्रीको छवि बनाएकी झरना थापाको निर्देशनमा बनेको चलचित्रमा सलिनमान बनिया, सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी राणाको प्रमुख अभिनय रहेको छ ।
प्रेम कथामा आधारित चलचित्र उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ । अधिकांश पोखराको सिन रहेको चलचित्रमा मुस्ताङ र काठमाडौंमा पनि केही दृश्यांकन गरिएको चलचित्र युनिटले जनाएको छ ।
पोखरामा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चलचित्रकी निर्देशक झरना थापाले चलचित्र उत्कृष्ट बनेको दाबी गरिन् । चलचित्र चल्नु र नचल्नुमा दर्शकको हात भएपनि कुनैकुनै चलचित्र ब्यबसायीक रुपमा नचलेपनि दर्शकमा छुट्टै छाप छोड्ने खालको हुने भन्दै उनले भनिन्,‘मेरो चलचित्र पनि ब्यबसायीक रुपमा चल्ने छाँट देखिएको छ, यसको टे«लर र गीत अहिले दर्शकले खुबै मन पराउनु भएको छ । यद्वपी ब्यबसायीक रुपमा चल्ने/नचल्ने पछि थाहा होला, तर यसले दर्शकमा एउटा राम्रो छाप छाडेर जानेमा म ढुक्क छु, त्यसैले यो असल चलचित्र चाहिं पक्का हो ।’

थापाले नयाँ कलाकारहरु भन्दै सलिनमान, साम्राज्ञीलगायत सबै कलाकारले चरित्रप्रति न्याय गरेको दाबी गरिन् । उनले अभिनय र निर्देशन फरक भएको बताउँदै आफूले कलाकारहरुलाई आफूजस्तै बनाउनका दवाब नदिई जसको जे क्षमता छ त्यसलाई जस्ताकोतस्तै चलचित्रमा उतार्ने प्रयास गरेको स्पष्ट पारिन् । बोल्ने क्रममा उनले आफ्ना दिवंगत गुरु शिव रेग्मी र नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झिईन् र भनिन्,‘म कलाकार र निर्देशक बन्नुमा उहाँहरुको योगदान छ, यो उहाँहरुकै देन हो ।’
निर्माता सुनिलकुमार थापाले स्वर्गिय निर्देशक शिव रेग्मी र श्रीकृष्ण श्रेष्ठको प्रेरणाले आफूले चलचित्र ए मेरो हजुर–२ बनाएको बताए । उनले झरनालाई चलचित्र क्षेत्रबाट टाढा नबनाउनको लागि भएपनि निर्देशक बनाएको बतए । यद्वपी झरनामा निर्देशकमा हुने गुण रहेको उनको भनाई थियो । यो चलचित्र कुनैपनि हिसाबले अन्य चलचित्र भन्दा कम नभएको बरु उत्कृष्ट भएको दाबी गरे ।
चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाले आफ्नो दोश्रो चलचित्र भएपनि उत्कृष्ट काम गरेको बताईन् । उनले ए मेरो हजुर–२ चलचित्रले आफ्नो करियरलाई अझ माथी लैजान भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । चलचित्रका नायक सलिनमान बनियाले चलचित्र राम्रो बनेको र आफूले अभिनयमा शतप्रतिशत दिने प्रयास गरेकाले यसले आफूलाई स्थापित गर्ने विश्वास व्यक्त गरे । अर्का नायक सलोन बस्नेतले आफूलाई सुहाउँदो पात्रको भूमिका पाएकाले आफूले न्याय गरेको बताए ।