मालेपाटन पाँचौं तिज गीत प्रतियोगितामा धारापानी पहिलो

पोखरा, ९ भदौ / पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मालेपाटनमा तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।  सूर्यचन्द्र विकास समाज मुख्य आयोजक र वडा नं. ५ स्थित विभिन्न संघसंस्थाको सहआयोजनामा भएको प्रतियोगितामा धारापानी आमा समूह प्रथम भएको थियो भने देविस्थान भजन समूह हेमजा द्वितीय, बाराही मावि तृतीय र दृष्टि विहिन दिदी बहिनी समूह अमरसिंह तथा परोपकार सर्वेश्वर आमा समूहले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

सूर्यचन्द्र विकास समाजका अध्यक्ष गायत्री भूत्र्यालको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले तिज पर्व अब दुःख व्यथा देखाउने पर्व नभई विकास र समृद्धिको सन्देश पूर्ण पर्व भएको चर्चा गरे ।  उक्त अवसरमा महिला सशक्तिकरण र अधिकारका लागि लड्ने वडा नं. १ का वडाध्यक्ष शारदा पराजुलीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं.५ का अध्यक्ष धन बहादुर नेपाली, समाज सेवी दुर्गा बहादुर सुनार, ध्रुव सुनार लगायतले पुरस्कार वितरण गरेका थिए ।  सहिद स्मृति पुस्तकालय अक्षयकोषमा सहयोग गर्नुहुने डा.भरत बहादुर खत्री, हेरम्ब÷पार्वती कोइराला र दामोदर घिमिरेलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको थियो भने तायाःमचाः नाच समूह पोखरा ५ ले परम्परागत गाइजात्रा नृत्य देखाएर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा अतिथि कलाकार जीवन दाहाल, कृष्ण सुवेदी, माधव चापागाई, पूजा तामाङ, अम्बिका भण्डारी लगायतले तीज गीतका नयाँ कोशेली प्रस्तुत गर्दै दर्शक दिदीबहिनीहरुको मन जितेका थिए । दर्शकदीर्घाबाट नृत्यमा कल्पना पाण्डे र अञ्जना के.सी.ले साडी उपहार प्राप्त गर्न सफल भए ।  आयोजकको तर्फबाट सहआयोजक, आर्थिक सहयोगदाता, अतिथि, कलाकारहरु, निर्णायक, बाद्यवादकहरुलाई प्रसंसापत्र वितरण गरिएको थियो भने कार्यक्रमको संचालन संस्थाका महासचिव कृष्ण प्रसाद बराल तथा गतिशील आमा समूहका उपाध्यक्ष लक्ष्मी बरालले संयुक्त रुपमा गरेका थिए ।

कमेन्टहरु
Loading...