पोखरा, २४ साउन /मादी ९ मुँग्री गाउँको चिनारी गीतको म्युजिक भिडियोमा अभिनय गरेर रंगमञ्चमा प्रवेश गरेकी नियोना गुरुङको अभिनय नयाँ आधुनिक गीतमा देख्न पाइने भएको छ । हालै छायाङ्कन गरिएको “हामी बिच…………।” बोलको नयाँ आधुनिक गीतको म्युजिक भिडियोमा उनी सहित अदृश गुरुङले अभिनय गरेका छन् ।
एक साता भित्रै स्ट्रिम नेपालको युट्युब च्यानलबाट सार्वजनिक गर्ने लक्ष्य राखिएको उक्त म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा छायाङ्कन खिमबहादुर गुरुङले गरेका छन् । आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी नियोनाले दुई वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेकी छिन्, भने अहिले शिरफुल र झमकबहादुर नामक दुई वटा नेपाली कथानक चलचित्रमा समेत अभिनय गरेकी छिन् ।
उनी स्ट्रिम नेपालको युट्युव च्यानलमा भिडियो रिपोर्टिङको काम समेत गर्दै आएकी छिन् । लोकप्रिय गायक दीपक लिम्बु र रजिना रिमालको सुमधुर स्वरमा सजिएको उक्त गीतको छायाङ्कन फेवाताल लगायत पोखरा आसपासमा गरिएको हो । गीतको शब्द रचना सजना गुरुङले गरेकी थिइन् भने संगीत शिखर सन्तोषले भरेका छन् । मुनाल फिल्मस्को ब्यानरमा डिपी गुरुङले उक्त म्युजिक भिडियो निर्माण गरेका हुन् ।