गलेश्वरधाममा अक्षरयात्रीका स्वर

पोखरा, २३ साउन /कान्छा कवि सुदर्शन पौडेलले म्याग्दीको गलेश्वर मन्दिर परिसरमा जब यो कविता पाठ गरे, माहोल स्तब्ध बन्यो । यौन व्यवसाय गर्ने महिलाप्रति मान्छेको दृष्टिकोण र उप्रति मान्छेको आशक्ति तथा उसको वाध्यतालाई ‘उत्तरआधुनिक देवी’ शीर्षकको कवितामा पौडेलले कार्यक्रमको उद्घाटन कवितामै फरक स्वादको कविता चखाए ।

उनले सुरुमै वाहवाही पाए । सधैँ धार्मिक पर्यटक पुग्ने म्याग्दीको गलेश्वरमा यसपटक सिर्जना फुराउन साहित्यिक पर्यटक पुग्ने र सधैँ मन्दिरका घन्ट, आरती तथा पुजापाठ गुञ्जने मन्दिर परिसरमा साहित्यिक सिर्जना गुञ्जिए ।  विशेष अक्षरयात्रीको रुपमा गलेश्वर पुगेकी कवि तथा प्रख्यात लोक गायिका हरिदेवी कोइरालालले गलेश्वर धामको संभावना र महत्वलाई कवितामा उतारेर सुनाइन् ।

उनले लोक तथा तीज गीत गाउँदा बनेको सांगीतिक माहोलमा अक्षरयात्रीले नाचेर साथ दिए । उनले अक्षरयात्रा साहित्यिक अभियानले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय संभावना भएका ठाउँहरुलाई उजागर गर्न सहयोग पु¥याएको बताइन् ।
कवि प्रकट पगेनी शिवले गलेश्वर मन्दिर छेऊबाटै बगेको कालीको तटमा पुगेर कवितामा आमालाई सम्झे । अक्षरयात्राको परिकल्पनाकारसमेत रहेका पगेनीले केही दिनअघि आमा गुमाउनुपर्दाको पीडालाई कवितामार्फत हल्कामात्रै पारेनन्, आमालाई खुसी बनाउन सके भगवान खोज्दै हिँड्नु नपर्ने सन्देश दिए ।

महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर तद्स्थानमै रचना सिर्जना गरी सुनाउने विशेष साहित्यिक अभियान अक्षयात्रा यसपटक म्याग्दीको गलेश्वर पुगेको हो । ‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारा लिएर साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात गर्दै एक दशकभन्दा लामो समयदेखि अक्षरयात्रा अभियान चल्दै आएको आयोजक संस्था गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले जानकारी दिए ।

‘जीवन र जगतलाई बुझ्न तथा मौलिक शब्दहरु बुन्न विभिन्न समाज र ठाउँ घुम्नैपर्छ, अध्ययन गर्नैपर्छ । त्यसैले देशका विभिन्न ठाउँमा पुगेर सोही ठाउँको अध्ययन गरी तद्स्थानीय रचना वाचन गरिन्छ,’ अध्यक्ष सुवेदीले भने, ‘यसले त्यहाँको संभावना उजागर गर्न, नयाँ तथा पुराना पुस्तालाई एउटै मञ्चमा ल्याउन र आत्मीयता तथा अनुभव साट्न विभिन्न पक्षमा सहयोग पु¥याएको छ ।’

सन्ध्या र नवनीत साहित्य सागरको आयोजना तथा गलेश्वर शिवालय धार्मिक विकास कोषको स्थानीय व्यवस्थापनमा पोखरादेखि ५० जना नयाँ तथा पुराना कवि गलेश्वरमा पुगेका थिए भने पर्वत, बागलुङ र म्याग्दीबाट समेत साहित्यकारको जमघट भएको थियो । कार्यक्रमा पैताला उपन्यासका लेखक गनेस पौडेल पनि कार्यक्रमका आकर्षण बने । पौडेलले सतिदेवीको अंग पतनमाथि लेखिएको ‘तिमी को हौ ?’ शीर्षकको कविता वाचनले धेरैको ध्यान खिच्यो ।

सर्जकले गलेश्वरको महत्व र कालीगण्डकीको महिमालाई सिर्जनामा समेटे । वृद्धाश्रमका ज्येष्ठ नागरिक, देशको समसामयिक, राजनीतिक तथा प्रणयपरक साहित्यिक रचनाले गलेश्वर परिसर गुञ्जिएको हो ।  गलेश्वर शिवालय क्षेत्र विकास कोष परिसरमा अक्षरयात्रीले करिब तीन घण्टासम्म कविता, गजल, मुक्तक वाचन गरेका थिए । कवि सञ्जीव पौडेल, अल्पज्ञानी, सुरज उपाध्याय, रमा प्राशर, भरत विवश पौडेल, आरके अदीप्त गिरी, तुलसी प्रवास, विकास रोका मगर, मिर्मिसा पराजुली, गीता तिवारी, कपिल शर्मा, केआर ढकाल, साधुराम लामिछाने, त्रुपक, गीता पहारी लगायत ५० जनाले साहित्यिक रचना सुनाएका थिए ।

सन्ध्याका सचिव वशन्त विनोदले सञ्चालन गरेको कार्यक्रममा धार्मिक विकास कोषका अध्यक्ष रुद्रबहादुर कार्कीले गलेश्वर धामको अवस्था, सम्भावना र महत्वको विषयमा जानकारी गराउँदै स्वागत गरेका थिए ।

कमेन्टहरु
Loading...