हुर्जा पश्चिमाञ्चलको अधिवेशन भाद्र १३ मा, पुरस्कार छनौट समिति गठन

पोखरा, ११ साउन /मानवअधिकार पत्रकार संघ (हुर्जा) पश्चिमाञ्चलको सातौं साधारणसभा तथा तेश्रो अधिवेशन यहि भाद्र १३ गते पोखरामा हुने भएको छ । हुर्जाको बुधबार पोखरामा बसेको बैठकले अधिवेशनका साथै प्रत्येक तीन वर्षमा दिइने हुर्जा मानवअधिकार पुरस्कार छनौट समिति समेत गठन गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा हुर्जाका निवर्तमान अध्यक्ष तथा पुरस्कारदाता कृष्ण अञ्जान ज्ञवाली, पूर्व सम्मानित व्यक्तित्वरपत्रकार तथा सल्लाहकार श्याम कुँवर, हुर्जा पश्चिमाञ्चलका अध्यक्ष राजेश पराजुली र महासचिव विरेन्द्र सापकोटा रहेको पुरस्कार छनौट समिति गठन गरिएको हुर्जाका कोषाध्यक्ष असफल गौतमले बताउनुभयो ।

पश्चिमाञ्चलमा रहेर मानवअधिकार सम्बन्धी कलम चलाउने पत्रकारलाई हुर्जाले आफ्नो संस्थाको अधिवेशनको अवसर पारेर प्रत्येक तीन वर्षमा एकपटक एक जना पत्रकारलाई सम्मानित गर्दै आएको छ भने हुर्जाले एउटा संस्थालाई संस्थागत सम्मान र हुर्जाका सदस्यमध्ये एकजना सदस्यलाई सम्मान गर्ने पनि निर्णय गरेको कोषाध्यक्ष गौतमले बताउनुभएको छ । गौतमका अनुसार पहिलो हुर्जा मानवअधिकार पुरस्कारबाट पोखराका क्रियाशिल पत्रकार श्याम कुँवर सम्मानित भइ सक्नुभएको छ ।

अधिवेशनकै अवसरमा हुर्जाले नयाँ सदस्यको लागि आह्वान खुल्ला गरेको छ । नेपालभर कुनै पनि जिल्लामा रहेर मानवअधिकार सम्बन्धी कलम चलाएका पत्रकारका लागि नयाँ सदस्यता आह्वान गरेको महासचिव विरेन्द्र सापकोटाले बताउनुभयो । नयाँ सदस्यका लागि यहि श्रावण मसान्तभरको समयसिमा रहेको छ । हुर्जाका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले अधिवेशनलाई भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने र अब तयारी तिव्र रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...