पोखरा, ५ साउन /सुनार समुदायका युवतीहरुलाई लक्षित गर्दै ‘मिस सुनार क्विन’ नामको सुन्दरी प्रतियोगिता हुने भएको छ । पियस्था इन्टरटेनमेन्टको आयोजनामा यो ‘ब्यूटि पेजेन्ट’ हुन लागेको हो । आयोजकले यतिबेला प्रतियोगिताको लागि सुनार समुदायका युवतीहरुलाई लक्षित गर्दै आवेदन खुलाएको छ ।
दुई चरणमा युवतीहरु प्रतियोगिताको लागि छनौट गर्ने आयोजकले बताएको छ । पहिलो चरणको अडिसन भैसकेको छ भने दोस्रो चरणको अडिसन अब आउने शनिबार पोखरामा हुने कार्यक्रम संयोजक मुस्कान सुनारले बताईन् । ‘तथाकथित तल्लो जातिको भनेर समाजमा चिनिदै आएको दलित समुदायको युवतीहरु अझै पनि खुल्न चाहँदैनन् । र, सुनार समुदायका तीनै युवतीहरु जोसँग प्रतिभा भएर पनि प्लेटफर्म पाएका छैनन उनीहरुको लागि नै यो कार्यक्रम लक्षित छ ।’ मुस्कानले भनिन् ।
प्रतियोगिताका लागि १९ जना सुनार समुदायका युवतीहरुलाई ‘इन्ट्रि’ दिईने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि न्यूनतम एसएलसी पास भएका १६ देखि ३० वर्षसम्मको सुनार युवतीहरुले आवेदन दिन पाउनेछन् । र, साउनको १० गतेदेखि छनौटमा परेका युवतीहरुलाई प्रशिक्षण दिन शुरु गरिने उसले जनाएको छ । प्रतियोगितामा छनौट भएका युवतीहरुलाई २५ दिनसम्म विभिन्न खाले प्रशिक्षण दिईनेछ । व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, ¥याम्प वाकको विभिन्न शैलीहरु प्रशिक्षणको क्रममा सिकाईने आयोजकले बताएको छ ।
आयोजकले भदौको पहिलो साता प्रतियोगिताको ग्राण्ड फिनाले हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ‘सिल्भर क्राउन’ सहित ५० हजार रुपैँया नगद प्राप्त गर्नेछन् । त्यस्तै ‘फस्ट रनरअप’ले २० हजार रुपैयाँ र ‘सेकेन्ड रनरअप’ले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । साथै प्रतियोगितामा आएका प्रतियोगीहरुका लागि आयोजकले विभिन्न अवसरहरु प्रदान गर्ने पनि बताएको छ ।
सुनार समुदायका युवतीहरुलाई लक्षित गरि आयोजना भएको सुन्दरी प्रतियोगिता यो नै पहिलो भने होईन । यद्यपी यसअगाडि भएका समुदाय लक्षित यस्ता कार्यक्रमहरुले निरन्तरता पाउन सकिरहेका छैनन् । यद्यपी यो कार्यक्रमलाई भने आयोजक संस्थाले निरन्तर आयोजना गर्दै जाने बताएको छ ।