भानु जयन्तीमा अन्तर समाज कबिता प्रतियोगिता

पोखरा, ३१ असार /२०४औं भानु जयन्तीको अवसरमा तनहुँ सम्पर्क समाज पोखराले अन्तर समाज स्तरीय कबिता प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । भानुभक्तीय विषयमा रचित कबिता प्रतियोगितामा पर्वत सम्पर्क समाजका शोभाकान्त गौडेल प्रथम भएका छन् ।

तनहुँ सम्पर्क समाजका स्ट्रगल राना द्वितीय र सल्यान राप्ती सेवा समाजका दीपक ओली तृतीय भए । प्रथम, द्वितीय र तृतीयलाई क्रमश ३ हजार रुपैयाँ, २ हजार ५ सय रुपैयाँ र २ हजार रुपैयाँ नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको समाजका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

त्यसैगरी समाजले प्रवेशिका (एसइइ) उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । समाजमा आबद्ध परिवारका छोराछोरी मध्येबाट उत्कृष्ट अंक ल्याउने ओजश्वी सुवेदीलाई तनहुँ रत्न पुरस्कारबाट पुरस्कृत गरिएको हो । स्वर्गीय मक्कर बहादुर केसीको स्मृतिमा उनका छोरा भरत केसीले वार्षिक रुपमा प्रदान गर्नेगरी पुरस्कार कोष स्थापना गरेका हुन् । भरत केसी समाजका उपाध्यक्ष समेत हुन् ।

सोही पुरस्कारबाट उत्कृष्ट द्वितीय अंक ल्याउने सत्कार अधिकारी र सौरभ भट्टराईलाई पनि पुरस्कृत गरिएको समाजका वरिष्ठ उपाध्यक्ष अम्बिका प्रसाद भट्टराईले जानकारी दिए । साथै समाजले समाजमा आबद्ध सदस्यका छोराछोरी मध्येबाट एसइइ उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्रले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा तनहुँका सांसद शंकर भण्डारीले नेपाली साहित्यमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण रहेको बताए ।

समाजका अध्यक्ष शिवराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष अम्बिका प्रसाद भट्टराई, उपाध्यक्ष भरत केसी, महासचिव तथा कार्यक्रम संयोजक भुवन पराजुली, अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष कृष्ण पाण्डे लगायतले बोलेका थिए । उपप्राध्यपक द्वव जगन्नाथ रेग्मी र प्रकाश पौडेलले समिक्षासहित निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कमेन्टहरु
Loading...