पोखरा, २६ असार/हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विशेष कार्यक्रम आयोजना गरि आइतवार असार पुर्णिमा अर्थात गुरु पुर्णिमा मनाएकाछन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं.९ बसपार्कस्थित हिमाली साँस्कृतिक परिवारको सभाहलमा आयोजित कार्यक्रममा गुरुहरुलाई सम्मान र गुरुहरुबाट आशिर्वाद ग्रहण गरी गुरु पुर्णिमा मनाएका हुन ।
परिवारका कलाकारहरुद्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथि हिमाली साँस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचन, अतिथिहरु परिवारका संस्थापक अध्यक्ष रुपेनबाबु थापा, अध्यक्ष मेनकाजी गुरुङ, कार्यसमिति, सल्लाहकारहरु, मानार्थ सदस्यहरु र प्रशिक्षकहरुलाई कलाकारहरुले टिका, फूलमाला, खादाद्धारा सम्मान गरेका थिए भने प्रमुख अतिथि लगायत आमन्त्रित अतिथि गुरुजनहरुले कलाकारहरुलाई आर्शिवाद प्रदान गरेका थिए ।
कार्यक्रममा नरबहादुर शेरचन, सल्लाहकार हुमबहादुर गुरुङ, सल्लाहकार चिजा गुरुङ ताङबे लगायतले गुरु पुर्णिमाको महिमाको बारेमा चर्चा गर्नुहुदै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकार मिन गुरुङले हालै हङकङमा साँस्कृतिक प्रस्तुति गरी फर्कन भएकोमा प्रमुख अतिथि शेरचनले खादा लगाई सम्मान व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा कलाकार मिन गुरुङले हङकङमा साँस्कृतिक प्रस्तुतिको अनुभव सुनाउनु भएको थियो । यसैविच हिमाली साँस्कृतिक परिवारका हाँस्यकलाकार दीपक थापाले आफ्नो नयाँ प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । तेज केसीको अध्यक्षतामा भएको कार्यक्रममा नितु गुरुङ बी ले स्वागत मन्तव्य र माधव गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।