पोखराको खेलकुदलाई यथेस्ट बजेट विनियोजन – सचिव दाहाल

पोखरा, २१ असार/युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताएका छन् । सचिव दाहालले समग्र खेलकुदको लागि राज्यबाट वार्षिक रु दुई अर्ब २४ करोड मात्रै छुट्टाइनु ज्यादै न्यून भएको जिकिर गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार पोखरामा आयोजना गरेको साक्षात्कारमा सचिव दाहालले खेलकुदका पूर्वाधार निर्माणमा पोखरा रङ्गशाला मन्त्रालयको प्राथमिकता परेको जानकारी दिए । पोखरा रङ्गशालाको पूर्वाधार विकासका लागि मन्त्रालयले रु. तीन करोड ५० लाख छुट्टाएको बताए । उनले हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरदेखि एडभेञ्चरस गेमहरुका लागि समेत यो ठाउँ निकट र उपयुक्त रहेकाले सोहि अनुसार अघि बढ्ने उल्लेख गरे ।

उनले सन् २०१९ मा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताका पाँच देखि छ खेल पोखरामा गरिन लागेको र खेलकुद सुरु गर्नुभन्दा अघि नै त्यसका लागि सुरु गरिएका पूर्वाधार सम्पन्न गरिने बताए । भलिबलदेखि आर्चरी, महिला फुटबल खेलहरु पोखरामा हुने उनले जनाए । राखेपको व्यवस्थापन, प्रतिबद्धत्ता र इमान्दारिता जति हुनुपर्ने हो त्यति नभएकाले यस्तो भएको भन्दै उनले आफूले असक्षम नभन्ने तर ईच्छाशक्ति भने राखेपमा नभएको प्रष्ट पारे ।

मुलुकको संघीय संरचना अनुसार खेलकुदको नयाँ नीति नियम आउन लागेको बताउँदै उनले खेलकुदको गुरु योजनासमेत निर्माणको क्रममा रहेको उल्लेख गरे । पोखरामा अन्तराष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नसके खेलकुदसहितको आर्थिक विकास हुने दाबी गर्दै सचिव दाहालले पोखराको खेल पूर्वाधार निर्माणमा थप बजेट आवश्यक परे माग गर्न आग्रह गरे ।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा रङ्गशालाको हातामा मिडिया सेन्टर निर्माणका लागि रु. २० लाख विनियोजन भएको जानकारी गराए । मञ्च, कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...