नेवारी चलचित्र ‘टुयुमति’को प्रदर्शन शनिबार

पोखरा, २६ जेठ/नेवाः पत्रकार पुच तथा मिस नेवाः पुच कास्कीको संयुक्त आयोजनामा पोखरामा शनिबार नेवारी चलचित्र टुयुमति प्रदर्शन हुँदैछ । नेवा छें भिमसेनटोलमा शनिबार अपराह्न ३ बजे ‘टुयुमति’ प्रदर्शन गरिने कार्यक्रम संयोजक तथा नेवाः पत्रकार पुच कास्की अध्यक्ष सञ्जय मल्लले जानकारी दिनुभयो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । चलचित्र लिएर चलचित्रका निर्देशकसहित ५ जनाको टोली शुक्रबार पोखरा आईसकेको मल्लले बताउनुभयो । युवा पुस्तालाई मौलिक भाषा तथा संस्कार÷संस्कृति प्रति आकर्षित गर्नका लागि पोखरामा पहिलो पटक नेवार भाषाको चलचित्रलाई सार्वजनिक प्रदर्शन गर्न लागिएको कार्यक्रमका सहसंयोजक तथा मिस नेवाः पुच पोखराका अध्यक्ष अंशु शाक्यले बताउनुभयो ।

अनु श्रेष्ठको निर्माण तथा आर्यम नकर्मीको निर्देशनमा बनेको चलचित्रमा मनिष श्रेष्ठ, अर्नेश्वरी शिल्पकार, मर्टा, राजाराम पौडेल, ह्दय प्रसाद मिश्र, गणेशराम लछि, सुशिल प्रजापति, सविन शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै चलचित्रमा मदनकृष्ण श्रेष्ठ, धिरेन शाक्य, राजेन्द्र खड्गी र हिसिला महर्जन अतिथी कलाकारका रुपमा रहेका छन् ।

यसैबीच, नेवा खलः कास्कीले शनिबारै कास्कीबाट निर्वाचित नेवार जनप्रतिनीधिहरुलाई सम्मान गर्ने भएको छ । चलचित्र ‘टुयुमति’ प्रदर्शन अघी दिउँसो १ बजेबाट सम्मान कार्यक्रम शुरु हुने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।

कमेन्टहरु
Loading...