सातौँ सँस्करणको बिग आइकनमा पहिलो दिन ६३ जनालाई ‘ग्रीन कार्ड’

पोखरा, १५ माघ/सातौँ सँस्करणको बिग आइकन शनिबारदेखि शुरु भएको छ । शनिबार शुरु भएको पहिलो चरणको अडिसन अन्तरगतको पहिलो दिन ६३ जना गायन प्रतिभाहरुले अघिल्लो चरणका लागि ‘ग्रीन कार्ड’ प्राप्त गरेका छन् ।

पहिलो चरणको अडिसन अझै ४ दिनसम्म निरन्तर चल्नेछ । यो पटक बिग आइकनमा ५४ जिल्लाका ११ सय ५२ जना प्रतिस्पर्धीले सहभागिता जनाउँदैछन् । शनिबार भएको पहिलो चरणको अडिसनअन्तरगत सबैभन्दा पहिलो ‘ग्रीन कार्ड’ स्याङ्जाका मोहदत्त काफ्लेले प्राप्त गरे । बिग आइकन छैठौँ सँस्करणका बिजेता साजन आलेले काफ्लेलाई पहिलो ग्रीन कार्ड प्रदान गरे ।

अडिसन शुरु हुनभन्दा अगाडि भएको उद्घाटन समारोहमा बिग एफएमका अध्यक्ष महेश भण्डारीले सम्पूर्ण प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए । उनले सम्पूर्ण सहभागी, स्रोता, सुभेच्छुक, एफएमका कर्मचारी र बिज्ञापनदाताकै कारण बिग आइकन सातौँ सँस्करणसम्म आइपुग्न सफल भएको बताए ।

‘यो संगीतको कुम्भमेलाको सफलताका लागि सबैजनाको उत्तिकै साथ र सहयोग आवश्यक हुन्छ ।’ भण्डारीले भने, ‘पोखराकै चिनारीको रुपमा स्थापित भैसकेको बिग आइकनको यो सँस्करणमा हामी सबैबाट यो कुराको अपेक्षा गर्छौँ ।’ करिब दुई महिनासम्म चल्ने बिग आइकनको यो सँस्करण अघिल्ला सँस्करणको तुलनामा अझै बढि बृहत भएको उनले दाबी समेत गरे । त्यस्तै बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले बिग आइकनको सफलतासँग पोखरेली साँगीतिक क्षेत्रको भविष्य जोडिने बताए ।

त्यस्तै निर्णायकहरु श्यामसुङ तामाङ, विवेकश्रेष्ठ र सुनील थापाले निष्पक्ष र निडर निर्णयको लागि आफुहरु सँधै तयार भएको बताए । राम्रा प्रतिभालाई छनौट गर्ने कुरामा निर्णायक मण्डल सँधै एकमत रहने उनीहरुले प्रतिबद्धता जनाए ।

उद्घाटन समारोहमा छैठौँ सँस्करणका बिग आइकन बिजेता साजन आलेले आफ्नो अनुभव बाँडेका थिए । बिग आइकन भएपश्चात आफुलाई साँगीतिक क्षेत्रमा अरुले हेर्ने नजरमा धेरै फरक परेको उनको अनुभव थियो । साथै उनले बिग आइकनको उपाधी पाएपश्चात आफुमा धेरै सकारात्मक प्रभाव परेको सुनाए । ‘एउटा सामान्य व्यक्तिलाई सेलिब्रिटी बनाउन सक्ने बिग आइकनको मञ्चको शक्ति छ ।’ उनले भने–‘फर्केर हेर्दा मलाई बिग एफएमको मञ्चले धेरै कुरा दिएको अनुभूत गर्दछु ।’ साजन केहि दिन अगाडि मात्रै बेलायतको साँगीतिक यात्रा गरेर फर्किसकेका छन् ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...