बिग आइकनको सातौँ सँस्करण शनिबारदेखि

पोखरा, १४ माघ/सातौँ सँस्करणको बिग आइकन शनिबारदेखि शुरु हुने भएको छ । आयोजक बिग एफएमले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि सातौँ सँस्करणको बिग आइकनको बारेमा जानकारी दिएको हो ।

यो पटक बिग आइकनमा ५४ जिल्लाका ११ सय ५२ जना गायन प्रतिभाहरुले सहभागिता जनाउने एफएमले जनाएको छ । विभिन्न चरणका २१ वटा अडिसनपछि ग्राण्ड फिनाले चैतमा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

‘सहभागिताको हिसाबले यो सँस्करणमा अहिलेसम्मकै सबैभन्दा बढि प्रतिस्पर्धीहरु बिग आइकनको मञ्चमा उत्रिँदैछन् ।’ बिग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘र, यो पटक अघिल्ला सँस्करणभन्दा अझै बढि भव्य तवरले बिग आइकन हुनेमा हामी विश्वस्त छौँ ।’ भूकम्प र नाकाबन्दीको चर्को मारको बेलामा पनि छैठौँ बिग आइकनलाई सफल बनाएको अनुभवले यो पटक अझै सजिलो बनाएको भण्डारीले बताए ।

एफएमले बिग आइकनको सातौँ सँस्करणको लागि २५ लाख रुपैयाँ लागत अनुमान गरेको छ । करिब दुई महिना चल्ने यो सँस्करणको बिग आइकनमा श्यामसुङ तामाङ, सुनील थापा र विवेक श्रेष्ठ निर्णायक रहनेछन् । प्रतियोगितामा उत्कृष्ट १० सम्म छनौटका लागि निर्णायकको सर्वाधिकार रहनेछ भने उत्कृष्ट १० पछि उत्कृष्ट ३ सम्म निर्णायकको अग्राधिकार रहनेछ । ग्राण्ड फिनालेका लागि छनौट भएका उत्कृष्ट तीन प्रतिस्पर्धीमध्ये बिजेता छनौटको सम्पूर्ण अधिकार भने स्रोताले गर्ने एसएमएस भोटिङमा रहनेछ ।

‘बिग आइकनको उँचाई र गरिमा निकै बढिरहेको छ । देशभरबाट वर्षेनी यो मञ्चमा आउने गायन प्रतिभाहरुको सहभागिताले यसलाई देखाउँछ ।’ निर्णायक म ध्येका एक सुनील थापाले भने–‘निर्णायकको हिसाबले हामी एउटा सबल र सक्षम प्रतिभा छनौट गर्ने कुरामा कुनै कसर बाँकी राख्नेछैनौ ।’ निर्णायकीको हिसाबले अहिलेसम्म कुनै पनि आरोप नलागेको बिग आइकनको यो सँस्रकणमा पनि यो कुरालाई निरन्तरता दिईने उनले आश्वस्त पारे ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । यी सबै बिग आइकन बिजेताहरु साँगीतिक फाँटमा क्रियाशिल रहेको बिग एफएमले जनाएको छ ।

कमेन्टहरु
Loading...