दुई बिग आइकन गौतम र आले लण्डनको कार्यक्रममा

पुस, २० /बेलायतको सांगीतिक भ्रमणमा रहेका बीग आइकन २०१६ का विजेता साजन आले र सन् २०११ का विजेता सुमन गौतमले लण्डनमा सँगसँगै प्रस्तुती दिएका छन् । अँग्रेजी नयाँबर्षकै दिन आइतबार उनीहरुले निरमाया रोधीघरको एउटै स्टेजमा उत्रिएर दर्शकलाई भरपुर मनोरन्जन दिएका हुन् ।

अरु बेला लोक दोहोरीको माहोलले तातिने निरमाया नयाँ बर्षमा भने विग आईकन गौतम र आलेको प्रस्तुतीले फरक वातावरणमा रम्यो । कार्यक्रममा आले र गौतमले मस्की मस्की हिंडेर जानेले…, यो मन त मेरो नेपाली हो…, लगायतका गीत सँगै गाएका थिए । नेपलिज इन्टरटेन्मेन्ट यूकेले उक्त सांगीतिक कार्यक्रमको चाँजोपाँजो मिलाएको थियो । कार्यक्रममा आलेले पिलायो साथीले…, तालको पानी…, झुमा झुम्कावाली, म विना कसै कसैलाई मुश्किल छ पोखरामा…, दर्शन नमस्ते… लगायतका दर्जन बढि गीत प्रस्तुत गरेका थिए ।

लामो समय आम्सट्रडममा बसेर अंग्रेजी गायनमा रमेका गौतमले अंग्रेजी र नेपाली दुवै खालका गीत गाए । कार्यक्रममा बीच बीचमा निरमायाकै गायक मधुसुदन थापाले पनि गाएर उपस्थित दर्शकलाई मनोरञ्जन दिए । वीरेन्द्र खड्का, अनिल मल्ल, दीपक खडका, राजेन्द्र गुरुङ लगायतको पहलमा भएको कार्यक्रममा आयोजक नेपलिज इन्टरटेन्मेन्ट यूकेले दुवै आइकनहरुलाई आर्थिक सहयोग समेत गरेको छ ।

कार्यक्रम सफल बनाउन युरोपको नेपालीपत्रका डिरेक्टर अफ अपरेसन्स् (यूके) सिद्धार्थविक्रम क्षेत्री र निरमायाका गणेश गुरुङले पनि साथ दिएका थिए । बिग आइकन साजन आलेले नेपाल फर्कनुअघि अब अन्तिम कार्यक्रम प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा जनवरी ४ तारिखको साँझ गर्ने भएका छन् । उनी बेलायतमा खुबै व्यस्त रहे ।  उनले तमुधिं यूकेको ल्होछार, प्रवासी नेपाली मञ्चको स्थापना दिवस कार्यक्रम, क्याम्बर्ली शो एसिया, गोल्डेनसीप र चौतारी रेष्टुरेन्ट लगायत ठाउँमा गाइसकेका छन् । आले बिग एफएमका अध्यक्ष महेश भण्डारीको साथ बेलायत पुगेका हुन् ।

कमेन्टहरु
Loading...