‘पोखरा सिनेप्लेक्स’को व्यवस्थापनको जिम्मा ‘क्यूएफएक्स सिनेमाज’लाई

पोखरा, ३ पुस /फ्रेन्चाइज विस्तारको क्रममा ‘क्यूएफएक्स सिनेमाज’ पोखरासम्म आईपुगेको छ । केहि समयअगाडि देखि पोखरामा संचालनमा आएको ‘पोखरा सिनेप्लेक्स’को सम्पूर्ण व्यवस्थापनको जिम्मासहित यो कम्पनीले पोखरामा आफ्नो उपस्थिती देखाएको हो ।

मनकामना माई इन्टरटेनमेन्ट प्रालिमार्फत संचालनमा आएको ‘पोखरा सिनेप्लेक्स’को व्यवस्थापनको जिम्मा लिएसँगै पोखरा ट्रेड मलमा भएको ‘मल्टिप्लेक्स अडिटोरियम’को नाम पनि फेरिएर ‘क्यूएफएक्स सिनेमाज पोखरा सिनेप्लेक्स’ भएको छ । आईतबारदेखि औपचारिक रुपमा यी दुई संस्थाको सहकार्यमा पोखरामा यी दुई हल संचालनमा आउनेछन् ।

फ्रेन्चाइज मोडललाई अगाडि बढाईरहेको ‘क्यूएफएक्स सिनेमाज’ले आफ्नो लगानी तथा व्यवस्थापनमा यसअगाडि काठमाण्डौको सिभिल मल, लबिम मल, जय नेपाल र कुमारी हल संचालन गर्दै आएको छ । त्यो सँगै उपत्यका बाहिर उसले यसअगाडि नारायणगढ र नेपालगञ्जमा ‘फ्रेन्चाइज मोडल’मा हल संचालन गर्दै आएको छ ।

यो सहकार्य सँगै दुवै कम्पनीले पोखराको ‘सिनेमा सँस्कृति’ बढ्ने कुरामा विश्वस्त देखिए । सुविधासम्पन्न हलमा चुस्त व्यवस्थापनका साथ सिनेमा हेर्दा यहाँको पर्यटन प्रबद्र्धन पनि हुने कम्पनीको दाबी छ । ‘शुरुवातदेखि नै क्यूएफएक्सले फिल्म हेर्न आउने दर्शकको ईच्छा अनुसार उनीहरुलाई सुविधा दिईरहेको छ । र, पोखरामा पनि हाम्रो यो ब्राण्डले यसलाई निरन्तरता दिँदैछ ।’ क्यूएफएक्स सिनेमाजका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले भने–‘हाम्रो ब्राण्ड भ्यालुलाई अझै बढाउने हिसाबले पोखरामा सेवा प्रदान गरिनेछ ।’

त्यस्तै पोखरा सिनेप्लेक्सका अध्यक्ष गणेश श्रेष्ठले युवाहरु मिलेर संचालनमा ल्याएको फिल्म हललाई अझै व्यवस्थित गराउन पाउँदा निकै खुशी लागको प्रतिक्रिया दिए । ‘हामी सात जना युवाको समूहले चितवनमा सिनेम्याक्स खोलिसकेपछि पोखराको दर्शकलाई लक्षित गर्दै यो हल खोलेका हाँै ।’ उनले भने–‘पोखरेली दर्शकको राम्रो साथ हामीले पाईराखेका छौँ । अझै क्यूएफएक्स ब्राण्ड हामीसँग जोडिएपछि दर्शकहरु अझै बढि ढुक्क भएर फिल्म हेर्न आउने कुरामा हामी विश्वस्त छौँ ।’

त्यसैगरि पोखरा सिनेप्लेक्सका निर्देशक हेमनारायण श्रेष्ठले सुविधासम्पन्न सिनेमा हल पोखराको आवश्यकता भएको बताए । ‘सुविधासम्पन्न हल नहुँदा सिनेप्लेक्स आउनु अगाडि कतिपय दर्शकहरु फिल्म हेर्नकै लागि काठमाण्डौ जाने गरेका उदाहरण थिए ।’ उनले भने–‘हामीले त्यो समस्यालाई निराकरण ग¥यौ । त्यसैमाथि क्यूएफएक्ससँगको सहकार्यमा चल्ने हलमा दर्शकले अझै बढि सुविधा पाउने कुरामा म विश्वस्त गराउन चाहन्छु ।’

‘क्यूएफएक्स सिनेमाज पोखरा सिनेप्लेक्स’मा दुईवटा पर्दा रहेको छ । आरामदायी सिट र अत्याधुनिक साउन्ड सिस्टम रहेको हलहरुमा टु डि र थ्री डि प्रोजेक्शनमा नेपाली, हिन्दी तथा अँग्रेजी फिल्महरु देखाईदै आएको छ । अनलाइन बुकिङ र पेमेन्ट सिस्टमको समेत सुविधा रहेको हलमा अब अझै बढि सुविधाहरु थपिने नयाँ व्यवस्थापनले जनाएको छ ।

कमेन्टहरु
Loading...