पोखरामा यस वर्ष पनि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने

पोखरा ३० मंसिर । पोखरामा यस वर्ष पनि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने भएको छ । पोखरा फिल्म सोसाइटीको आयोजनामा पुस ६ गतेदेखि ८ गतेसम्म दोश्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने बिहीबार​ पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।पोखरा सभागृहमा हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ५० भन्दा बढी चलचित्रहरुको प्रदर्शन गरिने सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले जानकारी दिए ।

पोखरामा यस वर्ष पनि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने

महोत्सवमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र र एनिमेसन चलचित्रलाई समेटिने लामिछानेले बताए ।महोत्सवका लागि पोखरामा बनेका ३ चलचित्रलाई छनोट गरिएको छ । पोखराबाट छनौटमा परेको चलचित्रमा विष्णु पौडेलको ‘मिरर’, महेश श्रेष्ठको ‘नयाँ झुल’ र मनोज घर्तीमगरको ‘भर्तीको राजनीति’ छनोटमा परेको महोत्वस संयोजक सरोज सापकोटाले बताए ।महोत्सवमा सहभागिताका लागि १ सय देशका ६ सय बढी चलचित्रहरुले आवेदन दिएको सापकोटाले जानकारी दिए ।

पर्वत वा हिमाली क्षेत्र आसपासका संस्कृति, जनजीवन, परम्परा, जैविक विविधता र पर्यावरणको सम्वर्द्धन र प्रवर्द्धनका विषयवस्तु समेटिएका चलचित्रलाई महोत्सवमा समावेश गरिने सोसाइटीका सचिव विष्णु गौतमले बताए । महोत्सवको अवसरमा ‘नेपाली चलचित्र’ विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रमहरु पनि हुने उनले बताए । महोत्सवको मुख्य कार्यक्रम बाहेक हरेक साँझ पोखरा आसपासका केही प्रमुख स्थानहरुमा निःशुल्क चलचित्रहरुको प्रदर्शन समेत गरिने लामिछानेले बताए । महोत्सव सम्पन्न गर्नका लागि करिब ५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...