चलचित्र ‘अग्निदहन’ मा माहिली दमै सम्मानीत

पोखरा, २५ कात्तिक/मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्र ‘अग्नीदहन’को बिहीबार सुटिङ समापन भएको छ । फिल्ममा अभिनय गरेकी सुनाखरी परियार (माइली दमै) लाई सम्मान गरेको दृश्य कैद गरि फिल्म समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै सञ्चार सचिव दिनेश थपलियाले फिल्मले मान्छे बोक्सी हुन्न भन्ने अभियानलाई स्थापित गराउँने बताए । ‘धर्मसँग जोडेर बोक्सी भन्ने कुरा अन्धविश्वास हो,’ उनले भने, ‘यस्तो अन्धविश्वासलाई खवरदारी गर्नुपर्छ ।’ उनले समाजले धनि र गरिब, बलियो र कमजोर भनेर रेखांकन गरेको नियमलाई अन्त्य गर्नुपर्ने बताए ।

सम्मान दृश्यसँगै फिल्मको सुटिङ समापन भएको चलचित्रका निर्देशक घनश्याम लामिछानेले बताए । ‘२६ दिनमा सुटिङ सक्यौ,’ उनले भने, ‘मान्छे बोक्सी हुन्न र यस्तो आरोप लगाउनु हिंसा हो भन्ने चेतना जगाउन खोजेका छौं ।’ चलचित्रले सामाजिक सचेतना जगाउने अपेक्षा गरेको उनले बताए ।

फिल्मका निर्माता कोविदशरण उपाध्यायले १५ वर्ष भित्रै नेपाललाई बोक्सी मुक्त देश घोषणा गर्ने प्रतिष्ठानले लक्ष्य राखेको बताए । ‘सरकार र नागरिकबाट सहयोग हुनुपर्छ, बोक्सी प्रथा हटाउने प्रयासमा जुटेका छौ,’ उनले भने, ‘संवैधानिक कानुनि व्यवस्था रहेपनि व्यवहारमा कुप्रथा अन्त्य लागु गर्नुपर्छ ।’ फिल्ममा बोक्सी माथि हुने विभिन्न यातना, बहिष्कार, हत्यालाई सवल तरिकाले चित्रण गर्ने प्रयास गरेको उनले उल्लेख गरे ।

फिल्ममा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, तुलसा जिसी, ताराबहादुर गुरुङ लगायतको अभिनय रहेको छ । लोकमणि पौडेलको कथा, दीर्घ गुरुङको छायांकन रहेको छ । फिल्मलाई नारायणगढ, सौराहा, हेटौंडा, कास्कीको अस्ताम, पोखरा, काठमाडौंका रमणिय दृश्य कैद्य गरिएको छ ।

कमेन्टहरु
Loading...