कन्दराको लाइभ कन्र्सट १८ बर्षपछि पोखरामा

पोखरा, ४ असोज/पोखरेली समुह कन्दराको लाइभ कन्सर्ट पोखरामा सम्पन्न भएको छ । पोखरा सभागृहमा खचाखच भरिएका दर्शकमाझ १८ वर्षपछि कन्दरा प्रस्तुत भएको थियो । कार्यक्रममा कन्दराका मुख्य भोकलिष्ट विवेक श्रेष्ठले आफ्ना विगतका दिन सम्झदै भावुक समेत बने ।

पछिल्लो एल्बम भेडिगोठैमामा समावेश ‘मलाई लाग्छ प्यारो’ बोलको राष्ट भावले ओतप्रोत गीतबाट आफ्नो प्रस्तुती आरम्भ गरेका विवेकले एक पछि अर्को गर्दै १८ वटा गीत दर्शकलाई सुनाए । आफ्ना नयाँ तथा पुराना गीत सुनाउँदा ती गीत सिर्जना गर्दाको क्षणलाई समेत उनले स्मरण गरे । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ पोखरा मेट्रो सिटीले कन्दरालाई पोखरा सभागृहमा उतारेको थियो ।

दिउँसो साढे ४ बजेबाट सुरु भएको कार्यक्रममा उपस्थित दर्शकले नाचेर र गलामा गला मिलाएर कन्दरालाई साथ दिएका थिए । सामाजिक कार्यमा सहयोगको लागि कन्दरा समुहको संगीत समस्या समाधान अभियानसँगको सहकार्यमा गरिएको कार्यक्रम भव्य भएको मुल आयोजक समितिकी अध्यक्ष बिना गुरुङले बताइन् । कार्यक्रमबाट प्राप्त आम्दानीले असहाय बालवालिकालाई सहयोग गरिने लायन्स क्लव अफ सिर्जना चौतारीका अध्यक्ष एम जे एफ बसन्त गिरीले बताए ।

झण्डै दुइ हजार दर्शकको सहभागीता कार्यक्रममा रहेको लायन्स क्लब अफ पोखरा मेट्रो सिटीका अध्यष आनन्दराज पौडेलको दावी छ । कार्यक्रम आइ पि डिजि पि एम जे एफ धुव्र बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । सामाजिक कार्यमा सहयोगको लागि कन्दरा समुहको संगीत समस्या समाधान अभियानसँगको सहकार्यमा कार्यक्रम भएको हो । कन्दरा समुहले यो अभियान अन्तर्गत देशका प्रमुख १७ शहरमा सांगीतिक कार्यक्रम गर्नेछ ।

कमेन्टहरु
Loading...