मादीमा बाढी, सोधा गाउँ जोखिममा

प्रकास ढकाल /पोखरा, १ साउन /मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे स्थित सोधा गाउँ जोखिममा परेको छ । बिहिबार राती बर्षासँगै मादी नदी उर्लिएर बस्ती नजिकै पहिरो गएको हो । पहिरोले स्थानीय कन्या कुमारी गुरुङको घर बगाएको छ । पहिरोका कारण दश भन्दा बढी घर उच्च जोखिममा परेका स्थानीय यमन गुरुङले जानकारी दिए ।

एउटा घर सामान सहित पूरै बगायो, पानी थपियो भने अरु पनि बगाउने अवस्थामा छ, उनले भने–सिमसिम पानी परिरहेको छ, स्थानीय पूरै त्रसित छन् । उनका अनुसार नदीको कटान बस्ती छेउमै पुगिसकेको छ । मादीको मुलमा अबिरल बर्षा भएका कारण बाढी आएको उनले बताए । बाढीले गाउँ नै जोखिममा परेपछि स्थानीयहरु नजिकै रहेको दुधपोखरी माविमा गएर बसेका छन् । विद्यालयभित्रै खाना पकाएर खाएको गुरुङको भनाई छ ।

मादी नदि उर्लिदा कास्कीको सोधा गाँउ नै जोखिममा, एक घर बगायो
मादी नदि उर्लिदा कास्कीको सोधा गाँउ नै जोखिममा, एक घर बगायो

बाढीले खेतीयोग्य जमिन समेत कटान गरेको छ । नदीको कटान बढ्दै गएकाले जोखिम निकै बढेको स्थानीयहरुले बताए । घर भित्र बसौं भने बाढीले बढार्ला भन्ने डर लाग्छ, उनीहरु भन्छन्–त्यसैले घरै छोडेर सुरक्षित ठाउँमा बसेका छौं । नदी किनारमा तटबन्ध नभएका कारण जोखिम पनि बढी भएको स्थानीय दुधपोखरी माविका प्रधानध्यापक कृति बहादुर अधिकारीले बताए । मादीको मुलमा रहेको घ्हपुचे हिमताल फुटेका कारण बाढी आएको स्थानीयको अनुमान छ । तर सामान्य बर्षाका कारण ताल फुट्न सक्ने सम्भावना नरहेको भूगर्भविद् डा. कृष्ण केसी बताउँछन् ।

तालको ड्याम निकै लामो र भरपर्दो छ, उनले भने–यति सजिलै फुट्ने अवस्था छैन, अन्य कुनै कारणले बाढी आएको हो । तालमा पहिरो पसेको भए अर्कै कुरा, नत्र ताल फुटेको छैन, उनी भन्छन्–ताल नजिकबाट बग्ने खोलाहरुमा पानीको आयतन बढेको होला । केसीको टोलिले केही समय अघि गरेको अध्ययन प्रतिवेदनमै नदी आसपासका बस्ती जतिसक्दो छिटो स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो ।

मादीमा पटक पटकको बाढीका कारण किनारको बस्ती उच्च जोखिममा छ । विज्ञहरुले नदीको पचास मिटर आसपास नबस्न सुझाएका छन् । तर बस्ती सार्ने बिषयमा सम्बन्धित निकायले चासो दिएका छैनन् । प्रहरीको टोली घटनास्थल तर्फ जाँदैछ । नदीले बाटो समेत बगाएपछि र्सवसाधारणलाई आवतजावत गर्न समस्या भएको अर्का स्थानीय योञ्जन गुरुङले बताए । बाढीका बिषयमा ढिलोगरी जानकारी पाएकाले अहिले नै केही गर्न सक्ने अवस्था नरहेको गाविस सचिव इन्द्र कुमारी जिसीले जानकारी दिईन् ।

हामीलाई ढिलो गरी जानकारी भयो, अहिलेसम्म कोही जान सकेका छैनन्, उनले भनिन्–प्रहरीसँग समन्वय भैरहेको छ, शनिबार मुचुल्का उठाउने र आवश्यक परे उद्धारको काम गरिनेछ । पहिरो गएपछि त्यस क्षेत्रमा सञ्चार सम्पर्क समेत सहज रुपमा हुन सकेको छैन । मौसमविद्हरुले अझै केही दिन अविरल बर्षा हुन सक्ने बताएका छन् । यसले बिषेशगरी नदी किनार जोखिममा हुने भएकाले उच्च सतर्कताका साथ बस्न उनीहरुको सुझाव छ ।

कमेन्टहरु
Loading...